आर्थिक

दैलेखको जलजलेमा ग्यास भण्डारणको सङ्केत भेटियो

- केएफएम डेस्ककाठमाडौं

दैलेखको जलजलेमा पेट्रोलियम अन्वेषण गर्न सुरु गरिएको ड्रिलिङ गर्दा ग्यास भण्डारणको सङ्केत देखा परेको छ । जलजलेमा ४ हजार २ मिटर गहिराइसम्म ड्रिलिङ गर्दा ग्यास भण्डारणको सङ्केत देखा परेको हो ।

खानी तथा भूगर्भ विभागका अनुसार ड्रिलिङपछि ग्याँसको नमुना निकालिएको छ । ड्रिलिङ गर्दा निस्किएको नमुना चीनको ल्याबमा पठाइएको छ ।

चीन सरकारको जिओलोजिकल सर्वे कम्पनीले भौगर्भिक अध्ययन गरेको अन्वेषण परियोजनामा सीएनपीसी इन्जिनियरिङले उत्खननको काम थालेको थियो । पेट्रोलियम अन्वेषण तथा प्रवद्र्धन केन्द्रका सिनियर डिभिजनल डा. गणेशनाथ त्रिपाठीले चीनबाट नमुनाको परीक्षणपछि व्यावसायिक रुपमा उत्खनन हुने नहुनेमा स्पष्ट हुने बताउनुभयो ।

सरकारले २०८२ सम्म पेट्रोलियम अन्वेषणको काम सक्ने तयारी गरेको छ । चैत २०७१ मा नेपाल र चीनबीच पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्ने सहमति भएसँगै २०७५ माघमा पेट्रोलियम तथा ग्यास खानीबारे विस्तृत अन्वेषण गर्नेसम्बन्धी परियोजना स्वीकृत भएको थियो ।