आर्थिक

असोज दोस्रो साताको बाढी पहिरोबाट भएको क्षतिस्वरुप १२ अर्ब बढीको बिमा दाबी

- केएफएम डेस्ककाठमाडौं

नेपाल बिमा प्राधिकरणले असोज दोस्रो साता आएको बाढी पहिरोका कारण भएको क्षतिबाट १२ अर्ब रुपैयाँ भन्दा बढीको बिमा दाबी भएको जनाएको छ । हाल सम्म तीनहजार ६ सय ८६ वटा दाबीको आवेदन पर्दा १२ अर्ब ८६ करोड ६६ लाख ८८ हजार तीन सय ३१ रुपैयाँ बराबरको बिमा दाबी परेको हो ।

जसमध्ये अहिलेसम्म एक हजार आठ सय नौ वटा दाबीको एक अर्ब ७८ करोड ८१ लाख ३८ हजार एक सय ५४ रुपैयाँ बराबर भुक्तानी भइसकेको छ । प्राधिकरणका अनुसार सम्पत्ति बिमामा एक हजार सात सय ७४ वटा दाबी पर्दा नौ अर्ब २२ करोड २५ लाख ५६ हजार दुई सय २८ रुपैयाँ बराबरको दाबी सम्पत्ति बिमामा परेको हो । त्यस्तै पशुपन्छी बिमातर्फ ६० वटा आवेदन पर्दा तीन करोड ८२ लाख ५५ हजार दुई सय ६७ रुपैयाँ बराबरको रकम माग भएको छ ।

कृषि बाली बिमातर्फ एक सय ३७ वटा आवेदन पर्दा एक करोड पाँच लाख ९१ हजार छ सय ९५ रुपैयाँ बराबरको माग दाबी भएको हो । प्राधिकरणका अनुसार विविधतर्फ २१ वटा आवेदन पर्दा ७५ लाख ९९ हजार सात सय ६७ रुपैयाँ बराबरको माग दाबी भएको छ ।