आर्थिक

खाद्यले कृषि सहकारी र समूहबाट धान खरिद गर्ने

- शंकर आचार्यपर्सा

किसानले अपेक्षाकृत रुपमा धान बिक्री गर्न नल्याएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्ज शाखाले कृषि सहकारी तथा कृषि समूहबाट पनि धान खरिद गर्ने भएको छ । 

शाखा प्रमुख पंकज कुमार झाले कम्पनीको मापदण्ड भित्र रहेर पर्सा र बाराबाट धान खरिद गर्ने नीति रहेको बताउनुभयो । ‘पर्साको डकैला बहुअरीको एक सहकारीले रुची देखाएको छ, बाराको अर्को सहकारीसँग पनि छलफल भई रहेको छ,’ उहाँले भन्नुभयो, ‘यसो गर्दा लक्ष्य अनुरुप धान खरिद हुने छ ।’

गत ंमंसिर २० गतेदेखि धान खरिद खुला गरेको शाखाले शुक्रबारसम्म २ हजार ३ सय ८ क्विन्टल २५ किलो सोना मन्सुली धान खरिद गर्न सकेको छ । यसवर्ष धान खरिद सुरु गरे लगत्तै बारामा पन्चवर्षीय गढीमाइ मेला लागेको कारण किसान मेलामा व्यस्त भएको र त्यसपछि उखु काट्ने र गहुँको बीउ छर्ने चटारोसँगै किसानको ट्याक्टर पनि व्यस्त भएपछि किसानले धान बिक्री गर्न नल्याएको झाले बताउनुभयो । 

हालसम्म पनि शाखामा धान बिक्री गर्न ल्याउने पर्साकै किसान रहेको उहाँको भनाई छ । विगतका वर्षहरु जस्तै बारा जिल्लाका किसानले अझै पनि धान बिक्री गर्न ल्याएका छैनन् । शाखाले यस वर्ष गत वर्ष भन्दा २० दिन अघि धान खरिद खुला गरेको हो । 

खाद्यले सोना मन्सुली धान प्रति क्विन्टल ३ हजार ५ सय ८० रुपैयाँ ६२ पैसामा खरिद गरिरहेको छ । गत वर्ष किसानले निजी क्षेत्रबाटै बढी मूल्य पाएपछि खाद्यलाई धान बिक्री गर्न ल्याएनन् । 

खाद्यले वीरगञ्जमा यस वर्ष जिरा मसिनो धान प्रति क्विन्टल ४ हजार रुपैयाँमा खरिद खुला गरेपनि किसानले हालसम्म जिरा मसिनो धान बिक्री गर्न ल्याएका छैनन् । यो धानको खरिद मूल्य प्रमुख जिल्ला अधिकारी संयोजक रहेको स्थानीय प्राथमिक खरिद समितिले निर्धारण गरेको हो । 

सोना मन्सुली धानको समर्थन मूल्य संघीय सरकारले प्रति क्विन्टल ३ हजार ५ सय ८० रुपैया ६२ पैसा निर्धारण गरेको थियो । यसवर्ष वीरगञ्ज शाखाले ४२ हजार क्विन्टल धान खरिदको कोटा पाएको छ । ४२ हजार क्विन्टल कोटा मध्ये ३२ हजार क्विन्टल सोना मन्सुली र १० हजार क्विन्टल जिरा मसिनो धान खरिदको कोटा छ ।