आर्थिक

सिद्धबाबा सुरुङ्मार्गको ‘ब्रेक थ्रु’ माघ ११ मा

- माधव अर्यालपाल्पा)

सिद्धबाबा सुरुङ्मार्गको ‘ब्रेक थ्रु’ माघ ११ गते हुने भएको छ । यसअघि माघ ८ गतेलाई तय भएको सिद्धबाबा सुरुङ्मार्गको ‘ब्रेक थ्रु सेरेमोनी’ माघ ११ गतेका लागि सारिएको हो । यसअघि माघ २ गतेलाई ‘ब्रेक थ्रु सेरेमोनी’ गर्ने भनिएको थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको समय माघ ८ गतेलाई मिलाएर ‘ब्रेक थ्रु सेरेमोनी’ कार्यक्रम राखिएको हो ।

सुरुङ खन्ने वा ठूला निर्माणको क्षेत्रमा ‘ब्रेक थ्रु’ लाई सेरेमोनीका रुपमा मनाइने भएकाले विशेष कार्यक्रम राखिएको सिद्धबाबा सुरुङमार्ग आयोजना प्रमुख कृष्णराज अधिकारीले बताउनुभयो । उहाँका अनुसार प्रधानमन्त्रीको सचिवालयबाट माघ ११ गतेलाई समय मिलाएको जानकारी पाइएको छ । 

पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले आफूलाई प्रधानमन्त्रीको सचिवालयबाट माघ ८ गते हुने कार्यक्रमलाई ११ गतेलाई गर्ने भन्ने जानकारी आएको बताउनुभयो । ‘पहिले माघ ८ गतेलाई कार्यक्रम राख्ने भन्ने थियो,’ उहाँले भन्नुभयो, ‘पुनः सचिवालयबाट ११ गतेलाई कार्यक्रम राख्ने भन्ने आएको छ ।’

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबामा निर्माणाधीन सुरुङमार्ग खनेर सक्न अब एक दशमलव ५ मिटर मात्र बाँकी राखेको छ । एघार सय सय २६ मिटरको सुरुङ मध्ये खन्नुपर्ने भाग एक हजार ८९ मिटर मात्रै भएको छ । जसमध्ये ‘ब्रेक थ्रु’का लागि १ दशमलव ५ मिटर बाँकी राखेर एक हजार ८७.५ मिटर सुरुङ खनेर सकिएको छ ।

दक्षिणतर्फ ६ सय ८ र उत्तरतर्फ ४ सय ७९.५ मिटर सुरुङ खनिएको छ । ब्रेक थ्रु सेरेमोनी गर्ने दिनमा साढे एक मिटर भागलाई ब्लास्ट गरिनेछ । यसअघि नै तीनवटा बाइपास टनेल मुख्य टनेलसम्म जोडिएको छ । बाइपास एक १ सय ५१, दुई १ सय ६१ र तीन १ सय ३० मिटर टनेल रहेको छ । सोही दिन प्रधानमन्त्री केपी शर्मा ओलीबाट बुटवल–गोरुसिंगे सडक शिलान्यास गर्ने कार्यक्रम छ ।

मुख्य टनेल ब्रेक थ्रु गरेपछि सुरुङभित्रको भूईं र भित्तामा लाइनिङ गर्ने कामलाई तीव्रता दिइने छ । गाडी गुड्ने क्षेत्र निर्धारण गरेर पेभमेन्ट ढलानको काम अघि बढेको छ । त्यसपछि विद्युतीकरण, भेन्टिलेसन, नाली लगायत कामलाई गतिदिइने आयोजनाकी सूचना अधिकारी सविता ज्ञवालीले बताउनुभयो । 

सुरुङमार्गको भौतिक प्रगति ३९.४९ प्रतिशत र वित्तीय प्रगति ३९.९ प्रतिशत भएको उहाँले जानकारी दिनुभयो । सिद्धबाबा क्षेत्रमा अहिलेको सडकमा पहिरो जान रोक्न ‘रक सेड’ प्रविधिबाट दक्षिणमा एक हजार ४९५ वर्गमिटरको काम भएको छ । उत्तरतर्फ ४९५ वर्गमिटर ‘प्रोटेक्सन’ को काम अघि बढेको छ । 

अहिले चालू सडकमा रक सेड, रक फल ब्यारियर र स्लोप प्रोटेक्सनको काम हुनेछ । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सुरुङमार्गको ठेक्का लिएको छ । इन्जिनियरिङ, ‘प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलको ठेक्का भएको हो ।