आर्थिक

आर्थिक क्षेत्रका कानून सुधारको प्रयास सकारात्मक : चेम्बर अफ कमर्स

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

आर्थिक तथा व्यवसायिक वातावरण एवं लगानी अभिवृद्धिका लागि सरकारले ल्याएको अध्यादेश सकारात्मक र दुरगामी महत्वको रहेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । 

सार्वजनिक सेवा सुधार गर्दै व्यवसायिक वातावरण र लगानी अभिवृद्धिका लागि कानूनमा संशोधन गर्न सरकारले ल्याएको अध्यादेश सकारकात्मक रहेको चेम्बरले उल्लेख गरेको छ । 

चेम्बर अफ कमर्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सार्वजनिक सेवा सुधार, र आर्थिक तथा व्यवसायिक वातावरण एवं लगानी अभिववृद्धि गर्न अध्यादेश आएको छ यसले मुलुकको आर्थिक वातावरणमा सुधार र लगानी अभिवृद्धि हुने विश्वास लिएका छौं ।’

अर्थतन्त्रको सुधार एवं लगानीमैत्री वातावरणका लागि चेम्बर अफ कमर्सले कानूनी पाटो सुधार गर्न सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो । वर्तमान अर्थतन्त्रको अवस्था सुधार गर्न सरकार प्रतिवद्ध रहेको देखिएको चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले बताउनुभयो । 

रकम फिर्ता लैजान चाहने विदेशी लगानीकर्ताको प्रस्ताव ७ दिनमै स्वीकृत हुने अध्यादेशमा उल्लेखित व्यवस्थाको चेम्बरले स्वागत गरेको छ । यसले मुलुकभित्र लगानीको राम्रो वातावरण रहेको सन्देश जाने चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘चेम्बरले अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि लगानी सम्मेलनका क्रममा उठाएको इजी इन्ट्री र इजी एक्जिटको विषय सम्बोधन भएको छ ।’

सूचना प्रविधि उद्योगले विदेशमा कार्यालय खोल्न र लगानी गर्न सक्ने अध्यादेशमा उल्लेखित प्रावधान आईटी क्षेत्रको विकासका लागि काशेढुङ्गा भएको चेम्बरको ठहर छ । आर्थिक तथा व्यवसायिक वातावरण सुधार एवं लगानी अभिवृद्धि सम्बन्धी अध्यादेशबाट विभिन्न ११ वटा र सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा सम्बन्धी अध्यादेशबाट १३ वटा कानूनमा संशोधन हुनु अर्थतन्त्रको दिगो विकासका लागि महत्वपूर्ण भएको चेम्बरले उल्लेख गरेको छ ।

जग्गा बाहेक स्थिर सम्पत्ति वा सम्झौताको धितो राखेर पनि ऋण लिन सकिने व्यवस्थाले अर्थतन्त्र र वित्तीय क्षेत्रलाई चलायमान बनाउन सहयोग पुग्ने चेम्बरले विश्वास लिएको छ । बैंक तथा वित्तीय क्षेत्रमा अधिक तरलता रहेको सन्र्दभमा अध्यादेशमा उल्लेखित प्रावधानले केही सहजता प्रदान गर्ने अध्यक्ष अग्रवालले बताउनुभयो । 

विशेष आर्थिक क्षेत्र सेज उद्योगलाई प्राथमिकतामा राख्नुलाई पनि चेम्बरले महत्वपूर्ण कमद भनेको छ । विशेष आर्थिक क्षेत्र ऐन २०७३ संशोधन गरी सेजका उद्योगीलाई ७५ प्रतिशत निर्यात गर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुनुलाई सकारात्मक रुपमा लिएको चेम्बरले जनाएको छ । सेवा क्षेत्रलाई पनि सेजमा आवद्ध गर्ने गरी अध्यादेशमा उल्लेखित व्यवस्थाले सेजमा निजी क्षेत्रलाई सहजीकरण गर्न खोजिएको चेम्बरले जनाएको छ ।

हाल सञ्चालनमा रहेका उद्योग विशेष आर्थिक क्षेत्र सेजमा सारिएमा कर छुट दिने व्यवस्थाको स्वागत गर्दै चेम्बरले आन्तरिक उत्पादनदेखि बजारीकरणसम्म सहज हुने अपेक्षा समेत गरेको छ ।

यस्तै विवरण नबुझाएका कारण कम्पनीलाई लाग्ने जरिवानामा ९० प्रतिशत सम्म छुट दिन अध्यादेशमा गरिएको व्यवस्थालाई पनि चेम्बरले स्वागत गरेको छ । यसले औद्योगिक वातावरण केही सहज हुने चेम्बरले उल्लेख गरेको छ । अर्थतन्त्रको शिथिलतालाई अन्त्य गर्न अध्यादेश महत्वपूर्ण भएको भन्दै संसदको हिउँदे अधिवेशनबाट अध्यादेश टुङ्ग्याउन समेत चेम्बरले सरकारको ध्यानाकर्षण गराएको छ ।