आर्थिक

पेट्रोल र डिजेलको मूल्य बृद्धि

- केएफएम डेस्ककाठमाडौं

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ ।

इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ सूची अनुसार मूल्य समायोजनपछि निगमले पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १ सय ६२ रुपैयाँ ५० पैसा र डिजेल १ सय ५३ रुपैयाँ ५० पैसा तोकेको छ ।

यस्तै, दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १ सय ६४ रुपैयाँ र डिजेल लिटरको १ सय ५५ रुपैयाँ तोकिएको छ । तेस्रो वर्ग अन्तर्गत काठमाडौं उपत्यका, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६५ रुपैयाँ कायम भएको छ । डिजेल प्रतिलिटर १ सय ५६ रुपैयाँ तोकिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पेट्रोलियम पदार्थको हकमा निगमको डिपो कार्यालयदेखि १५ किलोमिटरसम्मको दूरीको आधारमा खुद्रा बिक्री मूल्य तोकिएको निगमले जनाएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।