आर्थिक

आगामी बैशाखमा कोशी प्रदेशले लगानी सम्मेलन गर्ने

- केएफएम डेस्ककाठमाडौं

कोशी प्रदेश सरकारले आगामी बैशाख तेस्रो साता लगानी सम्मेलन गर्ने भएको छ । प्रदेशमा कृषि, पर्यटन, उद्योगलाई पहिलो प्राथमिकतामा राखेर लगानी सम्मेलनको आन्तरिक गृहकार्य भईरहेको प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले जानकारी दिनुभयो ।

बैशाख १८ र १९ गते लगानी सम्मेलन गर्नेगरी गृहकार्य भईरहेको शर्माको भनाई छ । प्रदेशमा कम्तिमा १ खर्व रुपैयाँ लगानी जुटाउने गरी विभिन्न परियोजनाहरु छनोट गर्ने काम भईरहको उहाँले जानकारी दिनुभयो ।

कोशीमा पहिलो पटक लगानी सम्मेलनको आयोजना गरिएको हो । कोशि प्रदेश लगानी प्राधिकरण मार्फत अहिले विभिन्न परियोजनाहरु छनोटको काम भईरहेको छ ।

प्रदेशको समग्र आर्थिक विकास र समृद्धिका लागि आवश्यक स्रोतको पहिचान र परिचालन गर्ने वातावरण सिर्जना गर्न लगानी सम्मेलन आयोजनाग गरिएको प्रमुख सचिव शर्माको भनाई छ । कृषि, ऊर्जा, उद्योग, पूर्वाधार, सूचना प्रविधि, सहरी फोहोर व्यवस्थापन र पर्यटन क्षेत्रका विभिन्न ३७ ठुला आयोजनाहलाई लगानी सम्मेलनमा सो केशका रुपमा राखिने प्रदेश सरकारले जनाएको छ ।