आर्थिक

राष्ट्रिय फल सुन्तलामा पनि परनिर्भर

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेर आत्मनिर्भर बनाउने बताए पनि आयात रोकिएको छैन । २०८० चैत ३० गतेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको थियो । 

राष्ट्रिय फलफूल विकास केन्द्रका अनुसार विभिन्न ६६ जिल्लामा सुन्तला उत्पादन हुने गरेको छ । तर, मुलुकका अधिकांश जिल्लामा उत्पादन हुने सुन्तलाले बजारको माग धान्न नसक्दा विदेशबाट आयात गर्नुपर्ने बाध्यता छ । 

नेपालमा मौसमी हिसाबले मंसिरदेखि फागुनसम्ममा सबैभन्दा धेरै सुन्तला उत्पादन भइरहेको पाइन्छ । बजारको माग धान्न विदेशबाट सुन्तला ल्याउनुपर्ने बाध्यताका कारण बर्सेनि अर्बौ रुपैयाँ बाहिरिने गरेको सरकारी तथ्याङ्कले देखाउँछ । 

भन्सार विभागले हिजो सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ५० करोड रुपैयाँ भन्दा बढीको सुन्तला आयात भएको छ । गत साउनदेखि पुससम्ममा विभिन्न देशबाट ५० करोड ६१ लाख ७१ हजार रुपैयाँ बराबरको सुन्तला र सुन्तलाको पाउडर आयात गरिएको हो । तर, सुन्तलाको निर्यात भने निकै न्यून छ । 

नेपालमा छिमेकी देश भारत, चीनसहित इजिप्त र दक्षिण अफ्रिकाबाट समेत सुन्तला भित्रिने गरेको भन्सार विभागको तथ्यांक छ । पछिल्लो ६ महिनामा सबै भन्दा बढी भारतबाट ४० करोड ७५ लाख रुपैयाँ बराबरको सुन्तला आयात भएको छ । 

आर्थिक वषइ २०८०/८१ मा विभिन्न देशबाट एक अर्ब ४४ करोड ३१ लाख रुपैयाँ बढीको सुन्तलता भित्रिएको थियो । नेपालको रैथाने फल सुन्तलाको उत्पादन बढाउन सघाउ पुग्ने उद्देश्यले राष्ट्रिय फल घोषणा गरिए पनि सरकारी निकायको बेवास्ताका कारण आयात गर्नुपर्ने बाध्यता छ । 

अर्कोतर्फ उचित प्रचारको अभावमा त्यसको विस्तार समेत हुन सकेको छैन । देशभित्रै उत्पादित सुन्तला पर्याप्त भण्डारण गर्न नसक्दा किसानले क्षति भोग्दै आएका छन् भने उपभोक्ताले महङ्गो मूल्य तिरेर भारत र तेस्रो मुलुकबाट आयातित सुन्तला उपभोग गर्नुपर्ने अवस्था छ ।