कालीमाटीमा चितवनबाट ल्याइएको हरियो सिमीमा भेटियो विषादी
- काठमाडौंसरकारी स्वामित्वको काठमाडौंस्थित कालीमाटी तरकारी तथा फलफूल बजारमा भित्रिएका तरकारीमा अत्यधिक मात्रामा जीवनाशक विषादीको प्रयोग गरिएको भेटिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अनुगमनका क्रममा कालीमाटीस्थित बजारमा भित्रिएको तरकारीको नमूना परीक्षण गर्दा मापदण्ड भन्दा बढी विषादी पाइएको हो । परीक्षणका क्रममा चितवनबाट ल्याइएको ११४ किलो हरियो सिमीमा विषादीको अवशेष पाईएको छ ।
चितवनबाट ल्याइएको हरियो सिमीको नमूना परीक्षण गर्दा ४२ प्रतिशतसम्म विषादीको अवशेष पाईएकोले ३ दिनसम्म क्वारेन्टाइन होल्ड गर्न लगाएको विभागले जनाएको छ । कालीमाटी बजारमा भित्रिने तरकारी ढुवानी गरिने साधनबाट तरकारी तथा फलफूलको नमूना संकलन गरी आरबीपीआर विधिबाट विषादी अवशेषको परीक्षण गरिएको थियो ।
अनुमगनको क्रममा आलु, प्याज, गोलभेडा, फूलगोवी, बन्दाकोभी, खुर्सानी, धनिया, फर्सी, काँक्रा, रायो साग, ब्रोकाउली, तरुल, च्याउ, लसुन, हरियो प्याज, बोदी, चम्सूर, भन्टा, गाँजर, हरियो सिमी तथा सुन्तला लगायत २२ प्रकारका तरकारी फलफूलका १५० वटा नमूनाहरुको परीक्षण गरिएको थियो ।
परीक्षणका क्रममा न्यूनतम १ देखि अधिकत्तम ४२ प्रतिशतसम्म विषादीको अवशेष पाइएको छ । आरबीपीआर मापदण्ड बमोजिम विषादीको अवशेष ३५ प्रतिशत भन्दा कम भएकालाई मात्र खान योग्य मानिन्छ ।
यस्तै, ३५ देखि ४५ प्रतिशतसम्म विषादीको अवशेष भएकोलाई क्वारेन्टाइनमा होल्ड गरी पुनः परीक्षण गर्ने र ४५ प्रतिशत भन्दा बढी आएमा नष्ट गरिने प्रावधान रहेको छ ।
विभागले कालीमाटी बजारमा मंगलबार राति ९ बजेदेखि बिहान ४ बजेसम्म मोवाइल भ्यान प्रयोगशालाको सहयोगमा आपूर्ति भएको २२ प्रकारका तरकारीहरुको परीक्षण गरेको थियो ।
अनुगमनका दौरान १०८ वटा गाडीका तरकारी तथा फलफूल परीक्षण गरिएको थियो । ती फलफूल तथा तरकारी भक्तपुर, काभ्रे, नुवाकोट, धादिङ, चितवन, परासी, मकवानपुर, सर्लाही, सिन्धुली, तनहुँ, पर्वत, काठमाडौं, स्याङ्जा, गोर्खा, ललितपुर, पर्सा, रामेछाप, सुनसरी, बारा, कास्की लगायत विभिन्न २० जिल्लाहरुबाट तथा एक वटा गाडी भारतबाट समेत आएको थियो ।