आर्थिक

खाद्य कम्पनीको वीरगञ्ज शाखाले सहकारीसँग धान किन्दै

- शंकर आचार्यपर्सा

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको वीरगञ्ज शाखाले कृषि सहकारी संस्थासँग धान खरिद गर्ने भएको छ । किसानले धान बिक्री गर्न नल्याएपछि कम्पनीको वीरगञ्ज शाखाले कृषि सहकारी संस्थासँग धान खरिद गर्ने भएको हो । 

शाखा प्रमुख पंकज कुमार झाले बाराको महागढीमाई नगरपालिकास्थित विश्वकर्मा बाबा कृषि सहकारी संस्थासँग धान खरिद बिक्रीको सम्झौता भएको बताउनुभयो । ‘यो सहकारीसँग अधिकतम २ हजार ५ सय क्विन्टल धान खरिद गर्ने छौं,’ उहाँले भन्नुभयो ‘यसै साता भित्र धान खरिद सुरु हुनेछ ।’ झाका अनुसार कम्पनीको खरिद निर्देशिकाले एउटा सहकारीसँग यति भन्दा बढी धान खरिद गर्न नमिल्ने व्यवस्था छ ।

पर्साको पटेर्वा सुगौली क्षेत्रको सहकारीसँग पनि धान खरिदका लागि छलफल भईरहेको उहाँले जानकारी दिनुभयो । ंमंसिर २० देखि खरिद खुला गरेको शाखाले मंगलबारसम्ममा जम्मा २ हजार २ सय ७३ क्विन्टल धान खरिद गरेको छ । 

यसवर्ष वीरगञ्ज शाखाले केन्द्रबाट ४२ हजार क्विन्टल धान खरिदको कोटा पाएको छ । कुल ४२ हजार क्विन्टल कोटा मध्ये ३२ हजार क्विन्टल सोना मन्सुली र १० हजार क्विन्टल जिरा मसिनो धान खरिदको कोटा रहेको छ । 

खाद्यले वीरगञ्जमा यस वर्ष जिरा मसिनो धान प्रति क्विन्टल ४ हजार रुपैयाँमा खरिद खुला गरेपनि किसानले हालसम्म जिरा मसिनो धान बिक्री गर्न ल्याएका छैनन् । यो धानको खरिद मूल्य प्रमुख जिल्ला अधिकारी संयोजक रहेको स्थानीय प्राथमिक खरिद समितिले निर्धारण गरेको हो ।

सोना मन्सुली धानको समर्थन मूल्य संघीय सरकारले प्रति क्विन्टल ३ हजार ५ सय ८० रुपैयाँ ६२ पैसा निर्धारण गरेको थियो । यस वर्ष धान खरिद सुरु गरे लगत्तै बारामा पन्च वर्षीय गढीमाइ मेला लागेको कारण किसान मेलामा व्यस्त भएको र त्यसपछि उखु काट्ने र गहुँ छर्ने चटारोसँगै किसानको ट्याक्टर पनि व्यस्त भएपछि धान बिक्री गर्न नल्याएको झाले बताउनुभयो । 

शाखाले यसवर्ष गत वर्ष भन्दा २० दिन अघि धान खरिद खुला गरेको हो । खाद्यले सोना मन्सुली धान प्रति क्विन्टल ३ हजार ५ सय ८० रुपैयाँ ६२ पैसामा खरिद गरिरहेको छ । गत वर्ष निजी क्षेत्रबाटै बढी मूल्य पाएपछि किसानले खाद्यलाई धान बिक्री गरेका थिएनन् ।