आर्थिक

चियाको निर्यातमा देखिएको समस्या समाधान गर्न पहल गर्नेः प्रधानमन्त्री ओली

- केएफएम डेस्क

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली चियाको भारत निर्यातमा देखिएको समस्या समाधान गर्न सक्दो पहल गर्ने बताउनुभएको छ । कोशीको प्रादेशिक चिया समन्वय समिति तथा झापा र इलामका चिया उत्पादक संघका प्रतिनिधिको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले औपचारिक र अनौचारिक दुबै संयन्त्रबाट समस्याको समाधानमा पहल गर्ने बताउनुभएको हो । 

उहाँले नेपाली चियाको उचित बजार प्रवद्र्धन र विस्तारमा ध्यान दिन उद्यमीलाई सुझाव दिनुभयो । प्रादेशिक चिया समन्वय समितिका अध्यक्ष आदित्य पराजुलीले चिया निर्यातबाट वार्षिक ६ अर्वको विदेशी मुद्रा स्वदेश भित्रिँदै आएकामा हाल भारत सरकारबाट नेपाली चियालाई अनिवार्य अक्सनमार्फत मात्र आयात गर्ने नीतिगत व्यवस्था हुन लागेकाले व्यवसायी मारमा पर्ने भन्दै प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउनुभयो ।

व्यवसायीले नेपालमै अक्सन केन्द्र सञ्चालन गर्नुपर्ने, नेपाली चियालाई दिइने निर्यात अनुदान तत्काल उपलब्ध गराउनुपर्ने र चियाबगान क्षेत्रमा सहज विद्युत आपूर्ति र महशुलको प्रबन्ध गरिनुपर्ने लगायत माग गरेका छन् ।