आर्थिक

वीरगञ्ज नाकाबाट ७ महिनामा २४ अर्बको तेलको निकासी

- शंकर आचार्यपर्सा

चालू आर्थिक वर्षको पहिलो ७ महिनामा वीरगञ्ज नाकाबाट २४ अर्ब रुपैयाँ बराबरको भटमास र सूर्यमुखीको प्रशोधित तेल भारत निकासी भएको छ । वीरगञ्ज भन्सार कार्यालयको तथ्यांक अनुसार गत साउनदेखि माघसम्ममा सो नाका हुँदै १९ अर्ब ३६ करोड रुपैयाँ बराबरको ९ करोड २७ लाख लिटर भटमासको प्रशोधित तेल भारत निकासी भएको थियो । 

गत आवको यस अवधिमा यो नाकाबाट एक लिटर पनि भटमासको प्रशोधित तेल निकासी भएको थिएन । त्यसैगरी, समीक्षा अवधिमा यो नाका हुँदै ४ अर्ब ६३ करोड रुपैयाँ बराबरको २ करोड १५ लाख लिटर सूर्यमुखीको प्रशोधित तेल भारत निकासी भएको छ । 

गत आवको यसै अवधिमा यो तेल पनि निकासी भएको थिएन । यस वर्ष भारततर्फ दुबै तेलको निकासी उत्साहजनक रुपमा वृद्धि हुनुमा भारतीय बजारमा भटमास र सूर्यमुखीको तेलसँग मूल्यमा प्रतिस्पर्धा गर्दा नेपाली तेल सफल हुनु प्रमुख कारण रहेको भन्सार कार्यालयले जनाएको छ ।

प्रति लिटरमा ५ रुपैयाँ मात्र पनि मुनाफा कमाएर नेपाली तेल उद्योगहरुले भारततर्फ निकासी गरिरहेको कार्यालयले जनाएको छ । नेपाली तेल उद्योगहरुले भटमास र सूर्यमुखी ब्राजिल, अर्जेन्टिना, युक्रेन आदि मुलुकबाट आयात गरेर तेल उत्पादन गर्छन् । 

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत अमित तिवारीले यस वर्ष उत्साहजनक रुपमा दुबै खाले तेलको निकासी भईरहेको बताउनुभयो । पछिल्लो तीन महिना यता निर्यात झनै बढेको उहाँको भनाई छ । 

नेपाली तेल उद्योगीहरुले यस वर्ष अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य घटदा उल्लेख्य परिमाणमा कच्चा पदार्थ आयात गरेकाले पनि उनीहरुलाई भारतीय तेलसँग मूल्यमा प्रतिस्पर्धा गर्न सहज भएको तिवारीले बताउनुभयो ।