युएसएडको अनुदान रोकिएपछि नेपालमा थप तीन वटा कार्यक्रम प्रभावित
- काठमाडौंअमेरिकी सहयोग नियोग युएसएडको अनुदान नआउने भएपछि नेपालमा थप तीन वटा कार्यक्रम रोकिएको अर्थमन्त्रालयले जनाएको छ ।
यसअघि शिक्षा, स्वास्थ्य, कृषि र तथ्याङ्क सम्वन्धि चार वटा कार्यक्रम ९० दिनका लागि स्थगन भएकोमा अन्य तीन वटा कार्यक्रम रोकिएको हो । मन्त्रालयका अनुसार जैविक विविधता, प्रदेश एवम् स्थानीय शासन सुदृढीकरण तथा जलवायु उत्थानशील नगरपालिका सेवा कार्यक्रम रोकिएको छ । ती कार्यक्रम डिजाइनको क्रममा रहेको थियो ।
मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले ती कार्यक्रमका लागि सम्झौता हुन बाँकी भएकाले कुनै सहयोग प्राप्त हुन नसकेको जानकारी दिनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशले अमेरिकी सहयोग नियोग (यूएसएड) बाट आर्थिक सहायता रोकिएपछि कार्यक्रम स्थगित भएका हुन् । यूएसएडले नेपालमा सन् १९५१ देखि निरन्तर अनुदान दिँदै आएको छ । कार्यक्रमहरु स्थगन भएपछि अहिले सार्वजनिक वृत्तमा युएसएडका परियोजनाबारे बहस भइरहेका छन् ।