आर्थिक

पूर्वी नवलपरासीका किसान चैते धान खेतीतर्फ आकर्षित

- केएफएम डेस्ककाठमाडौं

धान खेतीका लागि ७५ प्रतिशत अनुदान पाउने भएपछि पूर्वी नवलपरासीका किसान चैते धान खेतीतर्फ आकर्षित भएका छन् । 

असारमा लगाइने धानको तुलनामा चैते धानको उत्पादन बढी हुने र अनुदान पनि पाइने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । जिल्लाको पहाडी भेगका स्थानीय तहमा समेत चैते धान खेती विस्तार हुँदै गएको कृषि ज्ञान केन्द्र नवलपुरका कृषि अर्थविज्ञ संजय ढकालले बताउनुभयो ।

 ज्ञान केन्द्रले तोकेको पकेट क्षेत्रमा बिउ, कृषि उपकरण र सिँचाइका लागि ७५ प्रतिशतसम्म किसानलाई अनुदान दिने गरेको छ । चालु आर्थिक वर्षमा मात्र चैते धानको विस्तारका लागि १ करोड १० लाख रुपैयाँ अनुदान रकम विनियोजन गरेको छ ।गत वर्ष ५३ हेक्टर क्षेत्रफलमा ६ हजार २ सय ५० मेट्रिक टन धान उत्पादन भएकोमा चालु आर्थिक वर्षमा करिब ४५ हेक्टर क्षेत्रफल बढ्ने आकलन गरिएको छ । 

त्यस्तै असारमा लगाइने धान प्रतिहेक्टर करिब ४ मेट्रिक टन उत्पादन हुने गरेको छ भने चैते धान प्रतिहेक्टर ६ मेट्रिक टनसम्म उत्पादन हुने गरेको विज्ञहरूले बताउदै आएका छन् ।