छेङ्दु–पोखरा व्यावसायिक चार्टर उडान सुरु
-
चीनको सिचुआन एयरलाइन्सले आजदेखि छेङ्दु–पोखरा नियमित व्यावसायिक चार्टर उडान सुरु गरेको छ । सिचुआन प्रान्तको सहयोगमा १ सय २८ चिनियाँ यात्रु लिएर न्यारोबडी जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएको हो । सो जहाज आज नै पोखराबाट १ सय २६ नेपाली यात्रु लिएर छेङ्दुका लागि उडेको छ । चीनबाट आउने टोलीमा सिचुआन प्रान्तका सरकारी अधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत रहेका छन् । सो अवसरमा बोल्दै चिनियाँ राजदूत छन सोङले प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा पुगेको तीन महिनापछि पोखरामा पहिलोपल्ट नियमित उडान सुरु हुनु सुखद् रहेको उल्लेख गर्नुभयो ।
अन्य देशबाट पनि पोखरामा उडान आकर्षित गर्न विभिन्न हवाइ मार्ग छिट्टै खुलाउन नेपाल सरकारले पहल गर्नुपर्ने उहाँको भनाइ थियो । पोखरा महानगर प्रमुख धनराज आचार्यले हाल व्यावसायिक चार्टर उडान भए पनि भविष्यमा नियमित हरेक साता व्यावसायिक उडान हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँका अनुसार सिचुआन प्रान्तबाट पर्यटक ल्याउन सिचुआन एयरलाइन्सले १० सातासम्मका तालिका बनाएको छ । प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले पोखराबाट न्यारोबडी जहाज पूर्ण क्षमतामा आवतजावत गर्न सक्ने प्रमाणित भएको दाबी गर्नुभयो ।