भैरहवामा पाँचतारे स्तरको बुद्ध रिजेन्सी होटल सञ्चालन
- भैरहवारुपन्देहीको भैरहवामा स्वदेशी र बाह्य पर्यटक लक्षित गरेर पाँचतारे स्तरको बुद्ध रिजेन्सी प्रालि होटल सञ्चालनमा आएको छ । नयाँ वर्षबाट सेवा सुरु गरेको होटलमा करिब एक अर्ब हाराहारी लगानी भएको सञ्चालकले जानकारी दिए । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल नजिकै ठूलो लगानीमा अन्तर्राष्ट्रिय स्तरको होटल सञ्चालनमा आएको हो ।
सिद्धार्थनगर नगरपालिका–४, मा एक बिघा क्षेत्रफलमा निर्माण भएको होटलले गत बैशाख १ गतेबाट सेवा दिन थालेको होटलका जनरल म्यानेजर (जीएम) बसन्तराज पुरीले बताउनुभयो । उहाँका अनुसार व्यवसायी नरेन्द्रप्रसाद गुप्ता, सुनिल अग्रवाल र पवन सरावगीले होटलमा लगानी गरेका हुन् । ‘भैरहवा–लुम्बिनी सडकसँगै रहेकाले होटलमा सबैको आँखा पर्ने रहेछ,’ जीएम पुरीले भन्नुभयो, ‘सञ्चालनको पहिलो महिनामै होटलको बुकिङ उत्साहप्रद देखिएको छ ।’
उहाँका अनुसार अहिले होटलमा एक सय ५ कोठा रहेका छन् । यी मध्ये एउटा प्रेसिडेन्सियल स्वीट, तीन वटा स्वीट, पाँच वटा परिवार लक्षित इन्टरकनेक्टेड कोठा छन् । बाँकी ९६ वटा कोठा डिलक्स सुविधायुक्त रहेको जीएम पुरीले बताउनुभयो । ‘होटलको छतमा स्वीमिङ पुल रहेको छ,’ उहाँले भन्नुभयो, ‘यसकासाथै छतमा ८० जना अट्ने सभा हल र ७० जना अट्ने क्षमताको लाउन्ज पनि तयार छ ।’ त्यस्तै बार्दलीमा ५० जना अट्ने रेष्टुरेन्ट रहेको उहाँको भनाई छ ।
होटलको भुँइ तलामा आकर्षक लबीसँगैं तीन सय जनाभन्दा बढी अट्ने क्षमताको बैंक्वेट हल रहेको छ । त्यस्तै पहिलो तलामा दुई वटा कन्फ्रेन्स हलसँगैं १ सय ३० जना अट्ने रेष्टुरेन्ट र बार रहेको छ । निकट भविष्यमा क्यासिनो सञ्चालनका लागि विभिन्न मुलुकका बिदेशी कम्पनीसित छलफल भइरहेको जीएम पुरीले जानकारी दिनुभयो । ‘बुद्ध सर्किटमा आउने विदेशी पर्यटक लक्षित गरेर प्याकेज तयार गरिरहेका छौं,’ उहाँले भन्नुभयो, ‘स्वदेशी पर्यटक र कर्पोरेट ग्रुपलाईपनि आकर्षित गर्ने लक्ष्य हो ।’
अहिले यहाँ आउने पर्यटकका लागि ५ हजार भारतीय रुपैयाँमा कोठा उपलब्ध गराइरहेको होटल व्यवस्थापनले जनाएको छ । यस वर्षको बुद्ध जयन्ती लक्षित गरेर यहाँका होटल बुक गर्ने क्रम सुरु भइसकेको छ । यसक्रममा यस होटलमा पनि धमाधम बुकिङ भइरहेको छ ।
अहिले होटलमा सरदर ५० प्रतिशत अकुपेन्सी रहेको पुरीले बताउनुभयो । सञ्चालकले पाँच तारेस्तरको होटलका लागि अनुमति लिने तयारी भइरहेको कम्पनीले जनाएको छ । अहिले यसको व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय होटल चेन कम्पनी रमाडा इन्टरनेशनलसित कुराकानी भइरहेको छ । रुपन्देहीमा अहिले पाँचतारे स्तरका टाइगर प्यालेसबाई सोल्टी, सिद्धार्थ भिलासा र पवन प्यालेस सञ्चालनमा छन् ।