आर्थिक

प्रादेशिक कृषि थोक बजार सञ्चालनको तयारी

- सुवास विडारीमकवानपुर

हेटौंडा उपमहानगरपालिका–११ स्थित थानाभर्‍याङमा सुविधा सम्पन्न निर्माण भएको प्रदेशस्तरीय कृषि थोक बजार सञ्चालन गर्न कार्यविधि तयार भएको छ । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालयले सो भवन कसरी सञ्चालन गर्ने भन्नेबारे कार्यविधि निर्माण गरेको हो । 

निर्देशनालयले कार्यविधि निर्माण गरेर हेटौंडा उपमहानगरपालिकालाई पठाएको थियो । कार्यविधिको विषयमा उपप्रमुख राजेश बानियाँको संयोजकत्वमा बनेको कानून मस्यौदा समितिले छलफल गरेर कार्यविधि अनुसार सञ्चालन गर्न सहमति जनाएको हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिनुभयो । 

प्रवक्ता न्यौपानेले प्रदेश सरकारले कृषि थोक बजार उपमहानगरपालिकालाई हस्तारण गर्न ढिलाहुँदा किसानले पाउने सुविधामा समेत समस्या भएको बताउनुभयो । 

निर्देशानलयका सूचना अधिकारी प्रमोदप्रसाद दाहालले उपमहानगरपालिकाबाट कार्यविधि अनुसार सञ्चालन गर्न सकिने भनेर पत्र आएको बताउनुभयो । ‘कृषि थोक बजार सञ्चालनको लागि निर्माण गरिएको कार्यविधि उपमहानगरपालिकामा पठाएका थियौं । त्यसमा उहाँहरुको सहमति पत्र आइसकेको छ,’ उहााले भन्नुभयो, ‘अब त्यही कार्यविधि अनुसार उपमहानगरपालिकालाई कृषि थोक बजार हस्तान्तरण गर्ने तयारीमा छ ।’ 

सूचना अधिकारी दाहालले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव विनोद भट्टराईको सरुवाका भएको कारणले हस्तारणको काम रोकिएको बताउनुभयो । सबै काम अगाडि बढेपनि सचिव भट्टराई सरुवा हुँदा काम रोकिएको उहाँको भनाई छ ।

मन्त्रालयमा बैशाख १६/१७ गतेको अवधिमा नयाँ सचिव आएर जिम्मेवारी सम्हाल्ने बताउँदै उहाँले नयाँ सचिव आइसकेपछि मात्रै कृषि थोक बजारको हस्तारणको काम अगाडि बढ्ने जानकारी दिनुभयो । 

बागमती प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा निर्माण भएको कृषि थोक बजारको हस्तान्तरणमा ढिलाइ हुँदा सो स्थानको एक भवनमा बागमती प्रदेशको सहकारी तथा गरिवी निवारण मन्त्रालय समेत सरिसकेको छ । त्यति मात्रै नभई सुविधा सम्पन्न भवन निर्माण भएपछि प्रदेश सरकारका अन्य मन्त्रालयहरु समेत सार्नेबारे पनि बहस भइरहेका छन् । 

बागमती प्रदेश सरकारको कृषि मन्त्रालयसँगको सम्झौता अनुसार ९ जेठ २०७८ काम सुरु गरेको अनक/माउन्टेन जेभी काठमाडौंले ३० करोड ८७ लाख ६२ हजार रुपैयाँमा भवन निर्माण गरेको थोक बजारमा होलसेल मार्केट, रिटेलस मार्केट, किसानको टहरा बनेका छन् । 

भवनमा अन्डरग्राउन्ड पार्किङको पनि सुविधा छ । यहाँबाट भण्डारण, शीतभण्डार, प्याकिङ, ग्रेडिङ र प्रशोधनजस्ता कार्य गर्न सकिने सूचना अधिकारी दाहालले जानकारी दिनुभयो । भवन निर्माण भए पनि त्यहाँ सर्न तरकारी तथा फलफूल व्यापारी भने इच्छुक देखिएका छैनन् ।