विद्युत महसुल तिर्न बाँकी उद्योगीलाई पुनरावेदन गर्न प्राधिकरणको आग्रह
-नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंक लाइनको महसुल तिर्न बाँकी रहेका उद्योगीलाई केही सर्तसहित पुनरावेदन गर्न मौका दिएको छ ।
प्राधिकरणले आगामी जेठ मसान्तभित्र बक्यौताको ५ प्रतिशत नगद वा एक वर्षको म्याद रहने गरी जारी भएको बैंक ग्यारेन्टी धरौटी जम्मा गरी पुनरावेदनमा आउन आग्रह गरेको हो । प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै पुनरावेदनका लागि निवेदन दिने म्याद एक महिना तोकेको छ ।
वैशाख २१ गते बसेको प्राधिकरण सञ्चालक समिति (बोर्ड) बैठकले एक महिनाभित्र पुनरावदेनमा आउनका लागि उद्योगीहरुलाई सूचना जारी गर्ने निर्णय गरेको थियो । यसअघि ०८१ चैत २९ गते बसेको बोर्ड बैठकले २५ प्रतिशत धरौटी रकमलाई ५ प्रतिशतमा पु¥याउने निर्णय गरेको थियो । तर हालसम्म कुनै उद्योगी पुनरावेदनका लागि तयार नभएको बताइन्छ ।