आर्थिक

कृषि कर्ममा जलवायु मैत्री प्रविधिमा जोड

- शंकर आचार्यपर्सा

कृषि मजदुरको बढ्दो अभाव र जलवायु परिवर्तनको बढ्दो प्रभावसँग सामञ्जस्यता मिलाउँदै कृषि फर्महरुको व्यवस्थापन र जलवायुमैत्री प्रविधि अपनाउन आवश्यक भईसकेको सरोकारवालाले बताएका छन् । 

बाराको परवानीपुरस्थित कृषि अनुसन्धान निर्देशनालय आयोजित विभिन्न प्रविधिहरु सम्बन्धी दुई दिने तालिमको सोमबार आयोजित उद्घाटन सत्रका वक्ताहरुले कृषि फर्महरुको व्यवस्थापन र जलवायुमैत्री प्रविधि अपनाउनु पर्ने बताएका हुन् । 

निर्देनालयका निर्देशक डा विशेश्वर प्रसाद यादवले बढ्दो कृषि मजदुर अभावको विकल्पको रुपमा धान, गहुँ, मकै लगायत सम्पूर्ण बालीमा यान्त्रिकरण अपरिहार्य भएको बताउनुभयो । ‘शून्य जोताई प्रविधि र सुपर सिडर, ड्रम सिडर, राइस ट्रान्सप्लान्टर जस्ता कृषि यन्त्र किसानका लागि अपरिहार्य भईसकेको छ,’ उहाँले भन्नुभयो, ‘युवाहरु विदेशिने क्रम बढेकाले कृषि कर्ममा खटिएका महिला र वृद्धमैत्री कृषियन्त्रको आविष्कार पनि हुनुपर्छ ।’ 

डा.यादवले सबै पालिकाहरुले कष्टम हायरिङ सेन्टर निर्माण गरेर कृषि यन्त्रहरु किसानलाई भाडामा प्रयोग गर्न दिने व्यवस्था गर्नु आवश्यक रहेको बताउनुभयो । कृषि ज्ञान केन्द्र तथा अन्य कार्यालयले किसानलाई बाँडेका मध्ये ६० प्रतिशत कृषि यन्त्र बिग्रेर काम नलाग्ने भएको र तीनको मर्मत गर्ने प्राविधिक जनशक्ति पनि उपलब्ध नहुने समस्या बढ्दै गएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा.रामजीवन ठाकुरले जलवायुमैत्री प्रविधिमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले छरुवा धान प्रविधिबाट खेती गर्दा १०/१५ दिन अघिनै बाली भित्र्याउन सकिने बताउनुभयो । किसानलाई अनुदान दिँदा पनि उपयोगी उपकरणहरुलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो । 

निर्देशनालयका वैज्ञानिक डा.आनन्द मिश्रले बारा, पर्सा र रौतहटका किसानको सवलीकरण वृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको भन्दे निर्देशनालयमा यान्त्रिकरणलाई उच्च प्राथमिकतामा राखिएको सुनाउनुभयो ।