बजेटमा समेटिएका कर नीतिविरुद्ध गहना व्यवसायी आन्दोलित
- काठमाडौंसुनचाँदी व्यवसायीले बजेट वक्तव्य मार्फत समेटिएका अब्यवहारिक कर नीतिविरुद्ध चरणवद्ध आन्दोलनको घोषणा गरेका छन् । नेपाल सुनचाँदी ब्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले यही असार १३ गतेदेखि चरणवद्ध आन्दोलनको घोषणा गरेका हो ।
सरकारले ब्यवसायीका जायज माग सम्बोधन गर्न तदारुकता नदेखाएको र निर्णायक पहलकदमी नभएकोले चरणवद्ध आन्दोलनमा जान बाध्य भएको महासंघले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट मार्फत सुन तथा सुनका गरगहनामा २ प्रतिशत विलासिता कर र हीरा लगायत बहुमूल्य पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाउने निर्णय गरेसँगै गहना व्यवसायी सडकमा उत्रिएका हुन् ।
असार १३ गते देशभरका ब्यवसाय बन्द गर्ने जिल्ला सदरमुकाममा विरोध कार्यक्रम सञ्चालन गर्ने, बाग्मती प्रदेशको हकमा काठमाडौंमा बृहत र्याली सहित विरोध सभा गर्ने महासंघको विज्ञप्तिमा भनिएको छ । सरकारले जायज माग सम्बोधन नगरेमा साउन १ देखि देशभरका सम्पूर्ण सुन चाँदी ब्यवसाय अनिश्चितकालका लागि बन्द गरी महासंघद्वारा तय गरिएका आन्दोलनका कार्यक्रममा सहभागीता हुने उनीहरुले चेतावनी दिएका छन् ।
सरकारको नीतिले गहनाको मूल्य बढ्ने र कारोबार ठप्प हुने भन्दै बजेटको व्यवस्था फिर्ता लिनुपर्ने उनीहरुको माग छ । बजेट भाषणलगत्तै विरोध जनाएका उनीहरु संघर्ष समिति बनाएर प्रदर्शनमा उत्रिएका थिए । तत्काल अध्ययन कार्यदल गठनगरी जायज माग सम्बोधन गर्न महासंघले सरकारलाई अपिल गरेको छ ।
सरकारको नीतिले गहना क्षेत्र धराशायी अवस्थामा पुग्ने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनका गहना महँगा भएकाले सरकारले विलासिताको कर लगाएको छ । यसअघि १० लाख रुपैयाँभन्दा माथिका सुन तथा सुनका गरगहना, हीरालगायतमा २ प्रतिशत विलासिता लाग्ने गरेको थियो ।
हीरा, नीलम, पन्ना, रुबिमालगायत पत्थरका गहनामा १३ प्रतिशत भ्याट लाग्ने भन्दै सुनसहित मिश्रित गहना बनाउँदा १९ प्रतिशत कर तिर्नुपर्ने देखिएको उनीहरुको भनाई छ ।
सम्बद्ध संघ मार्फत गर्ने विरोध कार्यक्रम : असार मसान्तसम्म
१. विरोध कार्यक्रम (नारा सहितको ब्यानर, कालो झण्डा, हातमा कालो पट्टी बाँध्ने कार्यक्रमको निरन्तरता दिने) र अन्य रचनात्मक कार्यक्रम गर्ने ।
२. अव्यवहारिक कर नीतिबारे व्यवसायका माग सम्बन्धमा सचेतना पम्प्लेट सदस्य तथा उपभोक्ताहरुलाई वितरण गर्ने ।
३. अव्यवहारिक करले व्यवसाय, उपभोक्तामा पार्न सक्ने प्रभावबारे सदस्यहरुका लागि अभिमुखीकरण कार्यक्रम तथा आन्दोलन पूर्वतयारी सदस्य सर्वेक्षण कार्यक्रम सञ्चालन गर्ने ।
४. जनप्रतिनिधि जवाफदेही कार्यक्रम आयोजना गर्ने ।
महासंघद्वारा तय गरिएका आन्दोलनका कार्यक्रम :
१. असार १३ गते देशभरका ब्यवसाय बन्द गर्ने जिल्ला सदरमुकाममा विरोध कार्यक्रम संचालन गर्ने । बाग्मती प्रदेशको हकमा काठमाडौंमा बृहत र्याली सहित विरोध सभा गर्ने ।
२. सरकारले जायज माग सम्बोधन नगरेमा साउन १ देखि देशभरका सम्पूर्ण सुन चाँदी ब्यवसाय अनिश्चितकाललिन बन्द गरी महासंघद्वारा तय गरिएका आन्दोलनका कार्यक्रममा सहभागीता हुने ।