आर्थिक

साउन ११ गतेसम्म देशभर ७८ प्रतिशत रोपाइँ

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

मनसुन सक्रिय भएसँगै साउन ११ गतेसम्म देशभर ७८ प्रतिशत रोपाइँ भएको छ । देशभर रोपाइँ हुने क्षेत्रफल मध्ये हिजोसम्म ७८ दशमलव ८४ प्रतिशत भूभागमा धान रोपिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । 

गत वर्ष साउन १३ गतेसम्म ९२ दशमल ६ प्रतिशत भूभागमा रोपाइँ भएको थियो । यो वर्ष मधेश प्रदेश लगायतका केही क्षेत्रमा पानी नपरेका कारण हालसम्म गत वर्षको तुलनामा कम क्षेत्रमा रोपाइँ भएको हो । 

मन्त्रालयका अनुसार मधेशमा ३ लाख ७२ हजार ६ सय ४५ हेक्टरमा बर्खे धान रोपाइँ हुन्छ । तर, साउन ११ गतेसम्म १ लाख ९३ हजार ११६ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ । गत वर्षको सोही अवधिमा झन्डै दोब्बरले रोपाइँ भएको मन्त्रालयको तथ्यांक छ ।

कृषि मन्त्रालयका अनुुसार कोशी प्रदेशमा ८० दशमलव ३९, मधेशमा ५१ दशमलव ८२, बागमतीमा ८७ दशमलव १९ प्रतिशत र गण्डकी प्रदेशमा ८४ दशमलव ५३ प्रतिशत भूभागमा रोपाइँ सकिएको छ । 

लुम्बिनी प्रदेशमा ९२ दशमलव ४, कर्णाालीमा ९१ दशमलव ३८ र सुदूरपश्चिम प्रदेशमा सबै भन्दा बढी ९८दशमलव ९४ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ ।

नेपालमा मनसुनमा आधारित खेती प्रणाली भएकाले सिँचाइ अभावले समयमै रोपाइँ हुन नसकेको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ । 

नेपालमा गत जेठ १५ देखि नै मनसुन भित्रिए पनि मधेशमा भने उल्लेख्य वर्षा हुन सकेको छैन । मधेश प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशलाई सुक्खाग्रस्त घोषणा समेत गरिसकेको छ । रोपाइँ गर्ने बेला पनि पानी नपरेपछि प्रदेशलाई सुक्खाग्रस्त घोषणा गरिएको हो ।