रसुवागढी भन्सार बन्द हुँदा १२ अर्ब राजस्व गुम्यो
- काठमाडौंरसुवागढी भन्सार नाका तीन महिनादेखि बन्द हुँदा १२ अर्ब रुपैयाँ राजस्व गुमेको छ । बेलिब्रिज र सडक निर्माण ढिलाइका कारण नाका सञ्चालनमा आउन नसक्दा दैनिक करोडौं रुपैया राजस्व गुमेको हो । रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षमा ४० अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।
सबैभन्दा धेरै राजस्व उठ्ने चाडपर्वकै बेला नाका बन्द भएपछि राजस्व संकलन प्रभावित भएको भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले बताउनुभयो । यो नाकाबाट दैनिक सय कन्टेनर ओहोरदोहोर हुने गरेका थिए । सबैभन्दा धेरै विद्युतीय सवारी साधन यही नाकाबाट नेपाल ल्याउने गरिएको थियो । नाका ठप्प बनेपछि भन्सारका कर्मचारी कार्यालय कुरेर बसिरहेका छन् । नाका जोड्ने बेलिब्रिज र सडक नबन्दा रसुवागढी नाका सुनसान बनेको छ ।
गत असार मा ल्हेन्दे खोलामा आएको बाढीले नाका जोड्ने पुल बगाएसँगै रसुवागढी नाका ठप्प बनेको हो । यो नाका ठप्प हुँदा मुस्ताङको कोरलाबाट विद्युतीय गाडी र लत्ताकपडा आइरहेको छ ।