एमसीसीका लागि ५० मिलियन डलर थप हुने
- काठमाडौंनेपालमा कार्यान्वयनका क्रममा रहेको एमसीसी परियोजनाका लागि अमेरिका सरकारले थप ५० मिलियन डलर सहयोग गर्ने भएको छ ।
मिलेनियम च्यालेन्ज कर्पोरेसनले परियोजनाका लागि झण्डै ७ अर्ब नेपाली रुपैयाँ बराबरको रकम थप गरेको नेपाल स्थित अमेरिकी दूतावासले जनाएको छ ।
यससँगै सो सम्झौताअन्तर्गत उपलब्ध कुल हुने रकम ७४ करोड ७० लाख अमेरिकी डलर अर्थात् झण्डै १ खर्ब ६ अर्ब नेपाली रुपैयाँ पुगेको छ । त्यसमध्ये अमेरिकाको तर्फबाट ५५ करोड डलर र नेपाल सरकारको १९ करोड ७० लाख डलर रहेको दूतावासले जनाएको छ ।
थप गरिएको रकमले प्राथमिकताप्राप्त विद्युत् प्रसारण पूर्वाधारलाई पूर्ण बनाउने, नेपालको ऊर्जा प्रणालीको सुदृढीकरण गर्न सहयोगी हुने अपेक्षा गरिएको छ ।