आर्थिक

भन्सारमा हुने जाँचपास प्रक्रियाप्रति सशस्त्रको असन्तुष्टि

- अर्जुन सुवेदीसुनसरी

विराटनगर भन्सारबाट हुने जाँचपास प्रक्रिया र राजस्व अनुसन्धान कार्यालय इटहरीबाट हुने कामकारबाही कमजोर रहेको भन्दै सशस्त्र प्रहरी बलले असन्तुष्टि जनाएको छ । 

सीमा सुरक्षा र राजस्व चुहावट रोक्न सशस्त्र प्रहरीले प्रभावकारी काम गरे पनि दुई निकायको कामकारबाही सन्तोषजनक नरहेको भन्दै माथिल्लो निकायमा उजुरीसमेत गरेको छ । 

पछिल्लो समय भन्सार छलीका घटनामा पूरै जनशक्ति परिचालन गरेर सामान बरामद गर्न खोज्दा र बरामद समान अनुसन्धानका लागि राजस्वमा पठाउँदा निकै न्यून धरौटीमा छाड्ने गरिएको प्रति सशस्त्रले असन्तुष्टि जनाएको हो । विराटनगर भन्सार र राजस्व अनुसन्धानको कामकारबाही प्रभावकारी नरहेको उल्लेख गर्दै सशस्त्रले पूर्वक्षेत्रबाट हुने चोरी तस्करी र राजस्व चुहावट नियन्त्रण कार्य चुनौतीपूर्ण रहेको निष्कर्ष निकालेको छ ।

 दुई कार्यालयका प्रमुखप्रति असन्तुष्टि जनाउँदै सशस्त्र प्रहरी बल बराह बाहिनी पकलीका बाहिनीपति प्रहरी नायव महानिरीक्षक (डीआईजी) कुमार न्यौपानेले सो गतिविधि कायम रहे उच्च मनोबलका साथ काम गर्न नसकिने बताउनुभयो ।