आर्थिक

४ सय ५४ मेगावाटको किमाथांका अरुणमा लगानी गर्न संखुवासभाका स्थानीय तह सहमत

- दिपेन्द्र शाक्यसंखुवासभा

संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माणाधीन ४ सय ५४ मेगावाट क्षमताको किमाथांका जलविद्युत आयोजनामा जिल्लाका १० वटै स्थानीय तहले संस्थापक शेयरमा लगानी गर्ने सहमति जनाएका छन् । 

आज खाँदवारीमा विद्युत उत्पादन कम्पनी लिमिटेडले आयोजना गरेको छलफल कार्यक्रममा सहभागी स्थानीय तहका जनप्रतिनिधिहरूले आआफ्नो स्थानीय तहमा परेको शेयर बराबरको लगानी गर्न तयार रहेको स्पष्ट पारेका हुन् । छलफल कार्यक्रममा आयोजनाका निमित्त प्रमुख कार्यकारी अधिकृत हिरामान वाइबाले किमाथांका जलविद्युत आयोजना ४ सय ५४ मेगावाट क्षमताको ठूला आयोजनामध्ये एक भएको जानकारी दिनुभयो ।

 हालसम्म विस्तृत सम्भाव्यता अध्ययन र इन्जिनियरिङ अध्ययन सम्पन्न भइसकेको उहाँको भनाई छ । यो आयोजना “जनताको जलविद्युत आयोजना” का रूपमा विकास गरिने भन्दै आयोजनामा ५१ प्रतिशत लगानी नेपाल सरकारको र ४९ प्रतिशत लगानी सर्वसाधारण जनताको रहने कार्यकारी अधिकृत वाइबाले बताउनुभयो ।

 यसैबिच संखुवासभाका १० वटै स्थानीय तहको लगानीबारे छलफल भएको भन्दै आयोजना प्रोजेक्ट मेनेजर अशोक पण्डितले निर्माण सुरु भएको मितिबाट पाँच वर्षभित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्य लिइएको उल्लेख गर्नुभएको छ । यो आयोजना निर्माणका लागि करिब ९२ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।