आर्थिक

पर्यटनलाई उद्योग सरहको मान्यता दिन पर्यटन मन्त्रीसँग होटल संघको माग

- दीपक परियारपोखरा

पर्यटन क्षेत्रलाई उद्योग सरहको मान्यता दिई तत्काल कार्यान्वयन गर्न होटल संघ पोखरा नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हालाई आज पाँच बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । संघले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन, जेन–जी आन्दोलनबाट प्रभावित होटलको पुनरुत्थान तथा होटल नवीकरणका लागि वातावरणीय अध्ययन खारेजी लगायत ५ बुँदे माग अघि सारेको हो ।

 संघका अध्यक्ष लक्ष्मण सुवेदीले चालू बजेटमै पर्यटन क्षेत्रलाई उद्योग सरहको मान्यता दिने उल्लेख भए पनि कार्यान्वयन हुन नसकेको स्मरण गराउनुभयो । उद्योग तथा कानुन मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका मन्त्री सिन्हालाई पोखरामा स्वागत गर्दै संघले ती विषय तत्काल कार्यान्वयनमा लैजान आग्रह गरेको हो ।

 संघले हाल आन्तरिक उडानमा सीमित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत र चीनका विभिन्न सहरमा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न आवश्यक पहल गर्न माग गरेको छ । साथै सीमावर्ती सहर तथा आन्तरिक पर्यटकलाई लक्षित गर्दै प्रादेशिक सहरबीच हवाई सञ्जाल विस्तार गर्नुपर्नेमा पनि जोड दिएको छ । २०७२ अघि निर्माण भएका साना तथा मझौला होटलमा लागू गरिएको वातावरणीय अध्ययन अव्यावहारिक रहेको भन्दै त्यसलाई खारेज गर्न संघले माग गरेको छ ।

 जेन–जी आन्दोलनबाट प्रत्यक्ष प्रभावित होटल प्रतिष्ठानलाई पुनरुत्थानका लागि राहत प्याकेज उपलब्ध गराउन र पोखरासँग जोडिएका मुख्य राजमार्गको स्तरोन्नति तोकिएको समयमै सम्पन्न गर्न सरकारलाई दबाब दिनुपर्ने आवश्यकता ध्यानाकर्षणपत्रमा औंल्याइएको छ ।