आर्थिक

बाँकेमा १६ लाख क्विन्टल धान उत्पादन २० हजार क्विन्टल मात्र खरिद

- रुपा गहतराजनेपालगन्ज

बाँकेमा यो बर्ष १६ लाख क्विन्टल धान उत्पादन भएको छ । तर खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले केवल २० हजार क्विन्टल धान मात्रै खरिद गरेको छ । 

निर्धारित कोटा २० हजार क्विन्टल रहेकोमा २० हजार २ सय ९४ दशमलव २० क्विन्टल धान खरिद भइसकेकाले कम्पनीले धान खरिद गर्न बन्द गरिसकेको छ । 

१६ लाख क्विन्टल धान उत्पादन भएको जिल्लामा २० हजार क्विन्टल मात्र खरिद गरेर सरकारले नै किसानलाई गम्भीर समस्यामा पारेको स्थानीय किसानहरूको गुनासो छ । 

नेपाल सरकारले मोटो धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीनहजार ४ सय ६३ रुपियाँ ८१ पैसा र मध्यमधानको समर्थन मुल्य तीन हजार ६ सय २८ रुपियाँ ३३ पैसा तोकेको छ । 

तर गल्ला व्यापारीहरूले समर्थन मूल्य भन्दा डेढ हजार कममा धानखरिद गर्ने गरेका छन् । जसले गर्दा लागत मुल्य नै नउठ्ने चिन्तामा किसानहरू छन् । 

बाँकेका लागि तोकिएको २० हजार क्विन्टल धान खरिदको कोटा पूरा भइसकेको र कोटा थप नहुँदा खरिद बन्द गरिएको खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख रामशरण लामिछानेले बताउनुभयो ।