देउराली जनताको नयाँ परियोजना चितवनमा
काठमाडौंदेउराली जनता फर्मास्युटिकल्सले चितवनको भरतपुरमा नयाँ परियोजना सञ्चालन गर्ने तयारी गरेको छ । ३५ औं बार्षिकोत्सवका अवसरमा देउराली जनताले ४ अर्ब ७५ करोड रूपैयाँ लगानीसहित अत्याधुनिक नयाँ कारखाना स्थापना गर्ने घोषणा गरेको हो । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नयाँ परियोजनाबारे कम्पनीका निर्देशक सुरजभक्त पौडेलले जानकारी दिनुभयो ।
नयाँ परियोजना सञ्चालनमा आएपछि थप साढे ५ सय जनाले रोजगारी पाउने उहाँको भनाइ छ । देउराली जनतामा अहिले दक्ष वैज्ञानिक, प्राविधिक र अन्य जनशक्ति गरी झन्डै ६ सय ७५ कर्मचारी कार्यरत छन् ।
पत्रकार सम्मेलनमा बोल्दै कम्पनीका कार्यकारी निर्देशक हरिभक्त शर्माले वार्षिक साढे २ अर्ब रूपैयाँको कारोबार गर्ने यो उद्योगले आगामी दिनमा औषधि निर्यात गर्ने तयारी गरेको बताउनुभयो ।
विगत ३५ वर्षदेखि नेपालभित्र अत्यावश्यक औषधि उत्पादन गर्दै आएको सो कम्पनीले जीवन रक्षक र दीर्घरोग उपचारमा प्रयोग हुने क्याप्सुल, ट्याब्लेट, झोल औषधि, मलहम, ड्राइ पाउडर सहितका झन्डै ३ सय प्रकारका औषधि उत्पादन गरिरहेको जनाएको छ ।