आर्थिक

पर्सामा ४१ औषधि पसलको प्रमाणपत्र निलम्बन

- शंकर आचार्यपर्सा

औषधि व्यवस्था बिभागको पर्साको वीरगन्ज शाखा कार्यालयले चालु आर्थिक वर्षमा ४१ वटा औषधि पसलको प्रमाणपत्र निलम्बन गरेको छ । शाखा प्रमुख शम्भु साहका अनुसार अनुगमनका क्रममा कैफियत भेटिएका ती पसलमाथि कारबाही गर्दै प्रमाणपत्र निलम्बन गरिएको हो ।

यस अवधिमा कार्यालयबाट खटिएको अनुगमन टोलीले कुल २ सय ८० औषधि पसलको अनुगमन गरिसकेको छ । चालु आर्थिक वर्षमा ४ सय ६० औषधि पसल निरीक्षण गर्ने लक्ष्य राखिएकोमा हालसम्म ६० दशमलव ८ प्रतिशत प्रगति हासिल भएको साहले जानकारी दिनुभयो । 

यस्तै अनुगमनका क्रममा दर्ता नगरी सञ्चालनमा रहेका औषधि पसलमध्ये ३२ वटा पसल फागुन महिनामै दर्ता प्रक्रियामा आएका छन् । त्यसैगरी, चालु आर्थिक वर्षमा कार्यालयमा औषधि पसलसम्बन्धी २५ वटा उजुरी प्राप्त भएकोमा १८ वटा उजुरीको फछ्र्यौट भइसकेको छ । यस अवधिमा अनुगमन टोलीले एक दर्जन औषधि उत्पादक उद्योगको निरीक्षण समेत गरेको साहले बताउनुभयो ।