आर्थिक

वीरगन्ज नाकाबाट ग्यास र मट्टीतेल आयात घट्यो

- शंकर आचार्यपर्सा

पर्साको वीरगन्जबाट खाना पकाउने एलपी ग्यास र मट्टीतेलको आयात घटेको छ । गत आर्थिक वर्षको साउनदेखि फागुनसम्मको ८ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा इन्धनको आयात घटेको हो । सो नाकाबाट डिजेल, पेट्रोल र हवाई इन्धनको आयात भने सामान्य वृद्धि भएको छ । 

वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत वर्ष यस अवधिमा २४ अर्ब ६ करोड रुपैयाँ बराबरको २१ करोड ४२ हजार ७ सय ८५ किलो एलपी ग्यास आयात भएकोमा चालु आर्थिक वर्षमा २० अर्ब ५४ करोड रुपैयाँ बराबरको २० करोड २८ लाख किलो ग्यास आयात भएको छ । 

तुलनात्मक रुपमा चालु आर्थिक वर्षमा ७२ लाख २८ हजार किलो ग्यास कम आयात भएको छ । ग्यासको आयात घट्दा राजश्वमा पनि गिरावट आएको छ । गत वर्ष ग्यास आयातबाटै ४ अर्ब ५० करोड रुपैयाँ राजश्व संकलन भएकोमा चालु आर्थिक वर्षमा ३ अर्ब ८५ करोडमात्र राजश्व संकलन भएको छ । 

गत वर्ष सो अवधिमा ४५ करोड रुपैयाँ बराबरको ५ हजार २० किलोलिटर मट्टीतेल आयात भएकोमा चालु आर्थिक वर्षमा भने २७ करोड बराबरको ३ हजार १ सय किलोलिटरमात्र आयात भएको छ ।