व्यवसायीमाथि भइरहेको धरपकडबाट निरुत्साहित बनाएको व्यवसायीहरुको गुनासो
काठमाडौंनयाँ सरकार गठनपछि मुलुकमा स्थिरता कायम भई लगानीको वातावरण बन्ने अपेक्षा गरिएको समयमा उद्यमी व्यवसायीमाथि भइरहेको धरपकड र थुनछेकबाट निरुत्साहित भएको निजी क्षेत्रका व्यवसायीले बताएका छन् ।
अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान पु¥याइरहेको निजी क्षेत्र त्रसित हुनुपर्ने अवस्था सिर्जना हुँदा यसले अर्थतन्त्र, रोजगारी, राजस्व एवं पूर्वाधार निर्माणमा समेत गम्भीर असर पर्ने निजी क्षेत्रका तीनवटै छाता संगठनद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
धितोपत्र र बिमासम्बन्धी कसुरमा व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा हिजो पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान जारी राखेकै बेला प्रहरीले समेत धितोपत्र र बिमासम्बन्धी कसुरमा गोल्छामाथि अनुसन्धान अघि बढाएको हो ।
पूर्वअध्यक्ष पक्राउ परेपछि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले आज संयुक्त विज्ञप्ति जारी गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।