स्वरसम्राट नारायण गोपालको २७ औँ स्मृति दिवस
काठमाडौंनेपाली सांगीतिक क्षेत्रका स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको २७ औँ स्मृती दिवस आज विभिन्न कार्यक्रम गरी उहाँको सम्झना गरिदैछ । वि सं १९९६ मा असोज १८ गते काठमाण्डौंको किलागलमा जन्मिएका उहाँको निधन वि सं २०४७ मंसिर १९ गते भएको थियो ।
उहाँको सम्झनामा आज नारायण गोपाल संगीत कोष लगायत अन्य सांगीतिक संस्थाले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । राजधानीको महाराजगञ्जस्थित नारायण गोपाल चोकमा आज विशेष कार्यक्रमको आयोजना गरिएको छ । वि सं २०२० सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा पास गर्नुभएका उहाँले थुप्रै कालजयी गीत गाउनुभएको छ ।
उहाँलाई २०२३ सालमा सर्वोत्तम संगितकार, २०२४ सालमा सर्वोत्तम गायक, २०३९ सालमा रत्न रेकर्ड पुरस्कार, २०३३ सालमा गोरखा दक्षिणबाहु चौथो, २०४० सालमा इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार, २०४४ सालमा छिन्नलता पुरस्कार, २०४५ सालमा जगदम्बाश्री पुरस्कारबाट सम्मान गरिएको थियो यस्तै २०४८ सालमा त्रिशक्तिपट्ट तेस्रो पुरस्कारले मरणेपरान्त सम्मान गरिएको थियो ।
उहाँका म त लालीगुँरास भएछु, ए कान्छा ठट्टैमा यो वंश जान लाग्यो, एउटा मान्छेको मायाले लगायतका थुप्रै कालजयी गीतहरु आज पनि उत्तिकै लोकप्रिय छन् । यसैबीच नारायण गोपाल संगित कोषले हरेक वर्ष प्रदान गर्दै आएके स्वरसम्राट नारायणगोपाल स्मृती पुरस्कार यो वर्ष वरिष्ठ संगितकार एवं गायक सिके रसाइलीलाइ आजै एक कार्यक्रमकाबीच प्रदान गरिदैछ ।