मिस पूर्वाञ्चलको दशौं संस्करणमा २१ सुन्दरी भिड्दै
- सुनसरीफेशन, मोडलिङ र सौन्दर्य प्रतियोगिता प्रति रुचि भएका नयाँ पुस्तालाई लक्षित गरेर नियमित आयोजना हुँदै आएको नेपाल आइस मिस पूर्वाञ्चलको दशौं संस्करणको अन्तिम प्रतिस्पर्धामा २१ जना सुन्दरी छनौटमा परेका छन् । छनौटमा परेका सहभागीहरु धरानमा शनिबारदेखि सामूहिक रुपमा दिइने विभिन्न तालिममा व्यस्त छन् । उनीहरुलाई व्यक्तित्व विकास, कला संस्कृति, फेशन, र्याम्प वर्क, सौन्दर्य, पर्यटन, भूगोल, इतिहास, सूचना प्रविधि लगायतका अन्य विभिन्न विषयहरुमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण दिन सुरु गरिएको छ ।
बन्द प्रशिक्षणमा अनुषा लिम्बु, अनुपमा बस्नेत, सुष्मिता बराईली, निभेदिता राजभण्डारी, स्वेता पोख्रेल, मोनालिषा राई, शशि बिसंखे, सिमरन प्रधान, सिमरन लिम्बु, बिपना तामाङ, मिलिमा श्रेष्ठ, सुदिक्षा विश्वकर्मा, निशा धिताल, अस्मिता लिम्बु, वर्षा श्रेष्ठ, प्रिजनी नेपाल, एन्जल राई, रिजु भट्टराई, रेजिना राई, रेश्मा राई र अन्जु बुढाथोकी रहेका छन् ।
सहभागी मध्ये प्रिजनी नेपाल मिस इटहरी आइकन ०१९ विजेता हुन् भने रिजु भट्टराई मिस पथरी शनिस्चरे ०१९ र एन्जल राई मिस राई २०१९ कि विजेता हुन् । अन्य सहभागीहरु पनि मिस एसईई, मिस धनकुटा, मिस पथरी सनिश्चरेमा भाग लिएका र विभिन्न टाइटल जितेकाहरु छन् ।
भर्खरै मिस कस्मोपोलिटन वल्र्ड २०१९ कि विजेता प्रियारानी लामाको कोरियोग्राफी रहेको उक्त प्रतियोगिताको ग्राण्ड फिनाले पुस ५ गते धरानमा हुने इभेन्ट डाइरेक्टर शौरभ श्रेष्ठले बताए । सिल्भर इन्टरटेन्मेन्टको आयोजना रहेको उक्त प्रतियोगितालाई सिजी ब्रुअरीको मुख्य प्रायोजन, बराह ग्रुपको प्रस्तुति र ओम शान्ति कम्पनी लिमिटेड सिओल कोरियाको सह–प्रायोजन रहेको छ । उपाधि विजेताले नगद दुई लाख रुपैयाँ र अध्ययनका लागि यूएन कलेजको छात्रवृत्ति पाउने छ ।
फस्ट रनरअपले नगद १ लाख रुपैयाँ, सेकेण्ड रनरअपले नगद ५० हजार रपैयाँसँगै विभिन्न कलेजसँग सहकार्यमा छात्रवृत्ति दिइने बताइएको छ । मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस चार्मिङ, मिस व्यूटिफुल स्माइल, मिस पर्सनालिटी, मिस व्यूटिफुल कम्प्लेक्सन, मिस बेस्टवाक लगायतका विभिन्न विद्याका टाइटल विजेताहरुले जनही १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।