मनोरञ्जन

गजमेरद्वारा निर्देशित लघु चलचित्र ‘बत्तीको पुतली’ पुने सर्ट फिल्म फेस्टिबलमा

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

नेपाली लघु चलचित्र ‘बत्तीको पुतली’ (फलाइस एराउण्ड फायर) भारतको पुनेमा आयोजना हुने १४ औं सर्ट फिल्म फेस्टिबलमा छनोट भएको छ । लघु चलचित्र ‘बत्तीको पुतली’ सुमन गजमेरले निर्देशन गरेका हुन् । 

पुनेमा हुनेमा १४ औं सर्ट फिल्म फेस्टिबल यही जेठको २१ गतेबाट सुरु हुनेछ । गजमेरद्वारा निर्देशित लघु चलचित्र फेस्टिबल अन्तर्गतको उत्कृष्ट विद्यार्थी फिल्म, उत्कृष्ट पहिलो निर्देशक र उत्कृष्ट प्रयोगात्मक फिल्म गरी ३ वटा विधामा छनोट भएको हो । 

मोनिका थापा र विशाल शर्मा लघु चलचित्रको मुख्य भूमिकामा छन् । युवाहरुको मनोविज्ञानमा आधारित २० मिनेट लामो सो लघु चलचित्र गजमेर आफैले लेखेका हुन् । सो लघु चलचिको ध्वनी सम्पादन क्यानडाका क्रिरिक एस्ले स्मिथले गरेका हुन् । 

करीब २५ हजार रुपैयाँ लागतमा निर्माण गरिएको सो लघु चलचित्र काठमाडौंका विभिन्न् स्थानमा छायाङ्न गरिएको हो । पुने लघु चलचित्र फेस्टिबलमा भारतका प्रख्यात चलचित्रकर्मीहरुको उपस्थित हुने गर्छ ।

सो लघु चलचित्र मार्फत युवाहरुको मानसिक अवस्थाको चित्रण गर्ने प्रयास गरिएको निर्देशक गजमेरले बताए । उनले भने, ‘पछिल्लो समय युवाहरु रंगीन दुनियाँको खोजीमा आफ्नो यथार्थ भूल्ने गरेको विषयवस्तुलाई चलचित्र मार्फत देखाउन खोजिएको हो ।’ 

निर्देशक गजमेरले यसअघि नेपाली चलचित्रहरु महापुरुष, बाबरी र कठपुतली लगायतमा सहायक निर्देशकका रुपमा काम गरिसकेका छन् । निर्देशक गजमेरको लघु चलचित्र ‘बत्तीको पुतली’ यसअघि बेलायतको लिफ्ट अफ ग्लोबल नेटर्वक फिल्म फेस्टिबलमा पनि छनोट भएको थियो ।