मनोरञ्जन

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्डको छैटौं संस्करण यही जेठ ३२ गते हुने

- केएफएम डेस्ककाठमाडौं

रेडियो कान्तिपुरले आयोजना गर्दै आएको नेशनल म्युजिक अवार्डको छैटौं संस्करण यही जेठ ३२ गते शुक्रवार काठमाडौंमा हुने भएको छ ।

अवार्ड कार्यक्रममा १३ विधामा गीत संगीतका स्रष्टा र सर्जकलाई सम्मान गरिनेछ भने एक जना सर्जकलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ ।

अवार्ड कार्यक्रमको मिति घोषणा गर्दै सम्मान गरिने १३ विधामा शीर्ष पाँच जनाको मनोनयन समेत आज सार्वजनिक गरिएको छ ।

मनोनयनमा परेका उत्कृष्ट पाँच जनाको छनोट तीन जनाको जुरीले गरेको रेडियो कान्तिपुरका स्टेसन म्यानेजर पवन आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार २०७९ साउन देखि २०८० असार मसान्तसम्म रेडियोबाट प्रसारण भएका गीतलाई आधार मानी स्रष्टा र सर्जकलाई मनोनयनमा राखिएको छ ।

मनोनयनमा परेका ५ मध्ये सर्वोत्कृष्टको चयन निर्णायक मण्डलन गर्ने आचार्यले बताउनुभयो । अवार्ड कार्यक्रममा विभिन्न कलाकारको सांगीतिक प्रस्तुति समेत रहनेछ । अवार्ड कार्यक्रममा इण्डियन आइडलका १२ औं सिजनका विजेता पवनदिप राजन र समूहले विशेष प्रस्तुति दिनेछन् ।