मनोरञ्जन

गायक ओमविक्रम विष्टलाई रेडियो कान्तिपुरको 'दीर्घ साधना सम्मान'

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

रेडियो कान्तिपुरले पप सम्राट ओमविक्रम विष्टलाई दीर्घ साधना सम्मान प्रदान गरेको छ । रेडियो कान्तिपुरले शुक्रबार आयोजना गरेको ‘नेसनल म्युजिक अवार्ड्स–२०८०’ को अवसरमा गायक विष्टलाई दीर्घ साधना सम्मान (लाइफ टाइम अचिभमेन्ट) प्रदान गरिएको हो । 

नेपालमा पपमात्रै नभएर अनप्लग रेकर्डिङ भित्र्याउने विष्टलाई पाँच दशकदेखि यो विधामा गरेको साधनाको कदर गर्दै रेडियो कान्तिपुरले यो सम्मान दिइएको हो । नेशनल म्युजिक अवार्डको छैटौं संस्करणमा विभिन्न १३ विधामा गीत संगीतका स्रष्टा र सर्जकलाई सम्मान गरिएको थियो । 

२०७९ साउनदेखि २०८० असार मसान्तसम्म रेडियोबाट प्रसारण भएका गीतलाई आधार मानी मनोनयनमा परेका स्रष्टा र सर्जकमध्ये सर्वोत्कृष्ट १३ जनालाई काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा सम्मान गरिएको हो ।

उत्कृष्ट ‘नवगायक÷नवगायिका’को अवार्ड प्रभा अधिकारीको शब्द, सत्य र स्वरुपराज आचार्यको संगीत रहेको ‘ए रात’बाट गायक सुरेश ढुंगानाले जितेका छन् । उत्कृष्ट रचनाकारतर्फ प्रदीप मैनालीले ‘के लत बस्यो’बाट अवार्ड उचालेका छन् । यो गजललाई तिलकसिंह पेलाले गाएका हुन् भने उनकै संगीत रहेको छ । 

उत्कृष्ट म्युजिक निर्देशनतर्फ ‘ढुंगा जस्तो’ बोलको गीतबाट महेश खड्काले अवार्ड पाएका छन् । सुवास चन्द्रको शब्द रहेको यो गीतमा गायक प्रमोद खरेलको आवाज छ । 

उत्कृष्ट लोकदाहेरी गायिकाको अवार्ड भने ‘माझी दाइ’बाट शान्तिश्री परियारले जितिन् । नेत्र अर्यालको शब्द रहेको यो गीतमा खेम सेञ्चुरीको संगीत रहेको छ । उत्कृष्ट लोक गायकको विधामा ‘सकम्बरी’बाट प्रकाश सपुतले अवार्ड चुमेका छन् । 

उत्कृष्ट पाश्र्व गायिका बेनिशा पौडेलले ‘नाइँ नभन्नु ल ६’ को ’दिउँला माया’बाट अवार्ड जितेकी छिन् । उत्कृष्ट पाश्र्व गायकतर्फ एसडी योगीले ’बेमौसमी’बाट अवार्ड जिते । ’महापुरुष’ फिल्मको यो गीतमा राम अविरल विष्टको शब्द र गायक योगीकै संगीत छ ।

उत्कृष्ट आधुनिक गायिकाको अवार्ड ’कयौं दुःख’बाट संगीता रानाले अवार्ड उचालिन् । उत्कृष्ट आधुनिक गायकतर्फ ’के लत बस्यो’बाट तिलकसिंह पेलाले अवार्ड जिते । यो गीतले रचनातर्फको अवार्ड पनि जितेको छ । 

उत्कृष्ट ब्यान्डको विधा ‘अपरिभाषित’बाट ’स्वर’ले अवार्ड उचाल्यो । उत्कृष्ट पप गायिकामा ’बानी’बाट सुवानी मोक्तानले अवार्ड उचालिन् । चर्चित गीत ’सारंगी’बाट सुशान्त केसीले उत्कृष्ट पप गायकको अवार्ड उचाले । ’जे छौ तिमी’बाट ’पिपल्स च्वाइस’ अवार्ड भने स्वप्न सुमन र समीर श्रेष्ठले जिते । यो अवार्डको विजेता भोटिङ मार्फत छनोट गरिएको हो ।

अवार्ड कार्यक्रम आकर्षणको केन्द्र बनेका भारतीय रियालिटी सो इन्डियन आइडल १२ औं सिजनका विजेता पवनदीप राजन र समूहले प्रस्तुति दिएका थिए । 

करिब आधा घण्टाको प्रस्तुतिबीच पवनको समूहले ’तेरे मिट्टी’, ’सायद’, ’केसरिया’, ’आसियाना’, ’तेरा यार हुँ मे’, आफै तबला बजाउँदै ’लगजा गले’ लगायत गीतमाथि प्रस्तुति दिए । 

आफूले स्वर दिएको नेपाली गीत ’तिम्रो हाम्रो भेट’ पनि गाए । कार्यक्रमा भारतीय गायक पवनसँगै नेपाली गायक/गायिकाले समेत गायन प्रस्तुति दिएका थिए । कलाकार रचना रिमाल, बद्री पंगेनी, सुशान्त घिमिरे, सुगम पोख्रेल, अनु चौधरी र हिमाल सागरले प्रस्तुति दिए । 

त्यस्तै, कमेडियन सीता न्यौपानेले स्याण्डअप कमेडी प्रस्तुत गरिन् । रेडियो कान्तिपुरको वार्षिकोत्सवको अवसरमा आयोजना हुँदै आएको अवार्ड ५ औँ संस्करणबाट छुट्टै समारोहकाबीच हुँदै आएको छ ।