मनोरञ्जन

फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण आजदेखि

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण ललितपुरमा आजदेखि सुरु हुँदैछ । ललितपुरको यलमाया केन्द्रमा ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आजदेखि सुरु भएको महोत्सव चार दिनसम्म चल्नेछ । 

महोत्सवमा विभिन्न देशका ४७ वटा लघु चलचित्र र वृत्तचित्र प्रर्दशन गरिनेछन् । महोत्सवमा नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रींका लगायत नौ देशका चलचित्र प्रदर्शन गरिने महोत्सवका सहायक निर्देशक पवस मानन्धरले जानकारी दिनुभयो । 

यस वर्ष वेस्ट फिल्म इन द क्लाइमेट क्राइसिस अवार्ड थप गरिएको भन्दै उत्कृष्ट चलचित्र, जुरी अवार्ड, उत्कृष्ट स्टुडेन्ट चलचित्र, उत्कृष्ट डेब्यु चलचित्र र उत्कृष्ट फिल्म इन द क्लाइमेट क्राइसिस अवार्डको लागि प्रतिस्पर्धा हुने उहाँले जानकारी दिनुभयो । 

वृत्तचित्र हेर्न र सिर्जना गर्न चाहनेका लागि यो महोत्सव सुनौलो अवसर भएको उहाँको भनाई छ । कार्यशालामा भारतका निर्देशक कवीर खानको उपस्थिति समेत रहने आयोजकले जनाएको छ । महोत्सवमा पहिलो दिन आज तीन वटा हलमा विद्यार्थीहरुद्वारा सिर्जित सात लघु चलचित्र प्रदर्शन गर्ने जनाएको छ ।