बुलु मुकारुङलाई रेडियो कान्तिपुरको सम्मान
- काठमाडौंवरिष्ठ संगीतकार, गायक एवं संस्कृतिविद् बुलु मुकारुङलाई रेडियो कान्तिपुरले सम्मान गरेको छ । “सलाम ज्यूँदो इतिहासलाई” श्रृंखलाको नयाँ अंकमा शनिबार आयोजित विशेष कार्यक्रममा मुकारुङलाई रेडियो कान्तिपुरले सम्मान गरेको हो ।
रेडियो कान्तिपुरका स्टेशन म्यानेजर पवन आचार्यले मुकारुङ जस्ता संगीतज्ञलाई सम्मान गर्न पाउँदा रेडियो आफैंमा गौरवान्वित भएको बताउनुभयो । सम्मान ग्रहणपछि मुकारुङले नयाँ पुस्तालाई पुराना पुस्ताका बारेमा चिनाउने कार्यक्रम राखेको र अझ जीवित छँदै स्रष्टालाई सम्मान गर्ने परम्परा थालेकोमा रेडियो कान्तिपुरलाई धन्यवाद दिनुभयो । यस्तो सम्मानले सर्जकलाई सधैं हौसला र ऊर्जा प्रदान गर्ने भन्दै उहाँले थप सक्रियताका साथ आफ्नो कर्मको निरन्तरतामा लागि रहने पनि प्रतिबद्धता जनाउनुभयो ।
२०११ सालमा भोजपुरको बुलुम्पामा जन्मिनु भएका मुकारुङले ५ सय भन्दा बढी गीतमा संगीत भर्नु भएको छ । २०३४ सालमा रेडियो नेपालको स्वर परीक्षा दिएका उनले २०३८ बाट गीत रेकर्डिङ थाल्नु भएको हो । फत्तेमान राजभण्डारी, प्रेमध्वज प्रधान, कुन्ती मोक्तान, तारा देवीदेखि पछिल्लो पुस्ताका विश्व नेपालीसम्मले उहाँको संगीतमा स्वर दिनु भएको छ ।
संगीत सिर्जना बाहेक मुकारुङ कला र संस्कृतिको अन्वेषणमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । उहाँले नेपाली संगीतको अभिलेख नामक पुस्तक १३ वर्ष लगाएर प्रकाशित गर्नुभयो जहाँ ६ हजारभन्दा बढी सर्जकहरुका बारेमा जानकारी समेटिएको छ । त्यस्तै संगीत अनुशीलन र साइनो संस्कृति लगायत उहाँका चर्चित कृतिमा पर्छन् ।
मुकारुङले बदलिंदो आकाश र शान्तिदिप चलचित्रमा अभिनय समेत गर्नु भएको छ । त्यस्तै रुपमति, भोक र भित्ताहरुजस्ता टेलिसिरियलमा पनि मुकारुङको अभिनय कैद छ ।
रेडियो कान्तिपुर र कान्तिपुर म्याक्स टिभीबाट प्रत्यक्ष प्रसारण भएको कार्यक्रममा युवा गायक राज सागर, भविन ढुंगाना, सरिता शाही र शोभा पाण्डेले मुकारुङका चर्चित गीतहरु इलामे शहर चियाबारी राम्रो, माया तिम्लाई के भन्न मन लाग्छ, मिर्मिरेमा तिमीलाई र जीवनदेखि थाकेको मान्छे बोलको गीत प्रस्तुत गर्नु भएको थियो । रेडियो कान्तिपुरले यसअघि सलाम ज्यूँदो इतिहासलाई श्रृंखलामा यो वर्ष पप गायक सुनील उप्रेती र संगीतकार सी.के रसाईलीलाई सम्मान गरिसकेको छ ।