मनोरञ्जन

दोस्रो अन्तर विद्यालय लोक नृत्य प्रतियोगितामा कान्ति र एभरेष्ट विजयी

- सन्जु पौडेलतिलोत्तमा

रुपन्देहीको बुटवलमा सम्पन्न दोस्रो अन्तर विद्यालय लोक नृत्य प्रतियोगितामा सामुदायिक विद्यालयतर्फ कान्ति मावि “ख” समूहले उपाधि हात पारेको छ । त्यस्तै संस्थागततर्फ एभरेष्ट माध्यमिक विद्यालय विजयी भएको छ । 

आइतबार र सोमबार दुई दिनसम्म चलेको प्रतियोगितामा सामुदयिक मध्ये प्रथम भएको कान्ति माध्यमिक विद्यालयले अन्य २६ विद्यालयलाई पछि पारेको हो । त्यस्तै, एभरेष्टले २५ विद्यालयलाई हराउदै उपाधि चुमेको हो । 

उपाधिसँगै दुवै विद्यालयले जनही ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । सामुदायिक तर्फ सिद्देश्वर लालकुमारी मावि दोस्रो हुन सफल भयो । संस्थागतबाट तिनाउ इंग्लिस बोर्डिङ स्कूलले दोस्रो स्थान प्राप्त गरेको बुटवल उपमहानगरपालिकाका उपनिर्देशक दामोदर ज्ञवालीले जानकारी दिनुभयो । ती विद्यालयले ५०/५० हजार रुपैयाँ पुरस्कार पाएको उहाँले बताउनुभयो ।

प्रतियोगितामा नवीन औद्योगिक कदरबहादुर रिता माध्यमिक विद्यालयको “ख” समूहले तृतीय स्थान हासिल गर्दै ३५ हजार पुरस्कार पायो । संस्थागत विद्यालय मध्ये स्कलर्स होम इंग्लिस सेकेन्डरी स्कूलले तृतीय हुँदै ३५ हजार रुपैयाँ पुरस्कार पाएको छ । 

प्रतियोगितामा सामुदायिक तर्फका भवानी र नवीन औद्योगिक कदरबहादुर रिता मावि “क” समूहले सान्त्वना स्थान हासिल गरे । संस्थागत तर्फ इन्टेलेक्चुअल एकेडेमी र एक्स ब्रिटिस आर्मी स्कूलले सान्त्वना स्थान प्राप्त गर्दै जनही २५/२५ हजार रुपैयाँ पुरस्कार पाए । 

पुरस्कार वितरण कार्यक्रममा बोल्दै उपमहानगरका प्रमुख खेलराज पाण्डेयले स्थानीय कला संस्कृति र परम्परागत पहिचानको संरक्षणका लागि प्रतियोगिता गरिएको बताउनुभयो ।

उपमहानगरले लोक संस्कृति, धर्म तथा जातीय परम्पराको संरक्षणका लागि विद्यालय स्तरबाटै अभियान बढाउनुपर्ने ध्येय राखेर गत वर्षदेखि प्रतियोगिता सञ्चालन गर्दै आएको उहाँको भनाई छ ।