धनकुटामा १३ देशका नाट्यकर्मीद्वारा सडक नाटक प्रस्तुत हुँदै
- धनकुटासर्वनाम नाट्य समूहको संयोजनमा धनकुटामा सोमबार (आज) विभिन्न १३ मुलुकका नाट्यकर्मीले संयुक्त रुपमा 'सडक नाटक' प्रस्तुत गर्ने भएका छन् । इन्टरनेशलन पिपुल्स थिएटर भेस्टिभल सोसाइटी र सर्वनाम थिएटरको सहकार्यमा सो नाटक प्रस्तुत गरिने सर्वनाम नाट्य समूहका संस्थापक अशेष मल्लले जानकारी दिनुभयो ।
‘संस्कृतिको आदानप्रदान र दिगो भविष्य संरक्षण’ मूल नारा रहेको फेस्टिभलमा नेपाल सहित भारत, बंगलादेश, चीन, सिङ्गापुर, दक्षिण कोरिया, फिलिपिन्स, फ्रान्स, बेलायत, हङ्कङ, ताइवान, जापान, थाइल्याण्ड, बैङ्कक लगायत मुलुकका ४० जना प्रशिद्ध कलाकारको प्रस्तुति रहने मल्लले बताउनुभयो ।
फेस्टिभल अन्तर्गत एसियाका १३ देशका विभिन्न सहरमा २ सय बढी रंगकर्मी तथा कलाकार सहभागी भइसकेको बताईएको छ । धनकुटा नगरपालिका–५ तल्लो कोप्चेमा सोमबार दिउँसो १ बजेदेखि नाटक प्रदर्शन हुने कोप्चे पुनः जागरण अभियानका सल्लाहाकार राजेन्द्र प्रधानले जानकारी दिनुभयो ।
यसअघि फागुन १७ देखि पाँच दिन काठमाडौं र त्यसपछि २३ देखि २५ गतेसम्म इटहरीमा सो नाटक प्रस्तुत गरिएको थियो । धनकुटामा भने एक दिन मात्र प्रदर्शन हुने जनाएको छ ।