शपथ ग्रहणलगत्तै ट्रम्पद्वारा विभिन्न निर्णयमा हस्ताक्षर
- न्यूयोर्क
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ ग्रहणलगत्तै तत्कालिन राष्ट्रपति बराक ओबामा प्रशासनले ल्याएको स्वास्थ्यसम्बन्धी विधेयक कमजोर पार्नेसम्बन्धी निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।
ओबामा केयर नाम दिइएको सो विधेयकले सरकारी विभाग र संस्थाहरुमा खर्च बढ्ने भन्दै यो निर्णय गरिएको ट्रम्पले उल्लेख गर्नुभएको छ । चुनावी अभियानका क्रममा ट्रम्पले ओबामा केयरलाई निष्प्रभावी बनाउने र पुन:संरचना गर्ने बिषयलाई एउटा एजेण्डा बनाउनुभएको थियो ।
ओबामाकेयरमा स्वास्थ्य बिमा नगर्दा जरिवाना तिर्नुपर्ने लगायतका प्रावधान थिए । ओबामा प्रशासनले स्वास्थ्य बिमाको गुणस्तर बढाउन र बढी मानिसमा स्वास्थ्य सेवको पहुँच बढाउन सो विधेयक ल्याएको दाबी गरेको थियो ।
सो विधेयकको अमेरिकी कंग्रेस, संघीय अदालत तथा अधिकारवादीहरुले बिरोध गरेका थिए ।
ट्रम्पले देशभक्तिको राष्ट्रिय दिवससम्बन्धी घोषणामा पनि हस्ताक्षर गर्नुभएको छ । अवकाशप्राप्त सैनिक जनरल जेम्स म्याटिसलाई रक्षामन्त्री नियुक्त गर्ने बाटो खुल्ला गर्ने निर्णयमा पनि ट्रम्पले हस्ताक्षर गर्नुभएको छ ।