अन्तर्राष्ट्रिय

हङकङमा हजारौं सर्वसाधारण सडकमा

काठमाडौं

हङकङमा आपराधिक क्रियाकलापमा संलग्नलाई चिनियाँ न्याय प्रणाली अनुसार कारबाही अघि बढाउने सम्बन्धी विद्येयक पारित हुने भएपछि दशौं हजार सर्वसाधारणको विरोध प्रर्दशन चौंथो दिन पनि जारी छ । हङकङको न्याय प्रणालीमा चिनियाँ हस्तक्षेपको विरोध भईरहेको छ ।

करीब ५० हजार सर्वसाधारणको जनदबाबका बाबजुद हङकङको बेईजिङ समर्थित विधान परिषद्ले सो विवादास्पद विद्येयक पास गराउने प्रक्रिया अघि बढाएको बीबीसीले उल्लेख गरेको छ । सन् १९९७ मा बेलायती शासनबाट मुक्त भएको हङकङमा यो अहिले सम्मकै बृहत प्रदर्शन हो ।

सो विद्येयक खारेजीको माग सहित गत आईतबार देखिको आन्दोलन जारी छ । प्रजातन्त्रवादी पार्टीले विरोध प्रदर्शनमा सहभागी हुन सामाजिक सञ्जालहरु मार्फत आह्वान गरेका छन् भने त्यहाँका १ सय भन्दा बढी संघ संस्था र पत्रिकाहरुले प्रदर्शनमा सहभागी बन्नकै लागि आफ्ना कर्मचारीलाई बिदा दिएका छन् ।