अन्तर्राष्ट्रिय

भारतको सर्वोच्च अदालतले आफ्नै निर्णय पुनरावलोकन गर्ने

- बीबीसी

भारतको सर्वोच्च अदालतले केरलास्थित हिन्दूहरुको पवित्र सबरीमाला मन्दिरमा महिला प्रवेश गर्न दिने यसअघिको आफ्नै ऐतिहासिक निर्णय पुनरावलोकन गर्ने भएको छ । महिनावारी हुने उमेर समूहका महिलालाई प्रवेश खुल्ला गर्न गत वर्ष दिएको आदेश विरुद्ध मुद्दा दायर भएपछि सर्वोच्चले पुनरावलोकन गर्न लागेको हो ।

पवित्र सबरीमाला मन्दिरमा महिनावारी हुने उमेर समूह १० देखि ५० वर्षसम्मका महिला माथि लाग्दै आएको प्रतिबन्ध विभेदकारी भएको भन्दै त्यसलाई हटाउन सर्वोच्चका ५ जना न्यायाधीशको बृहत पूर्ण इजलाशले गत वर्ष आदेश दिएको थियो ।

सर्वोच्चको सो आदेशलगत्तै व्यापक विरोध प्रदर्शन भएको थियो । अदालतको आदेशपछि पनि मन्दिर प्रवेश गर्ने चाहने महिलालाई स्थानीयले रोक्दै आएका थिए भने केहीमाथि निर्घात कुटपीट समेत भएको थियो । सर्वोच्चले यसअघिको आदेशमाथि कुनै धारणा नै नजनाई आज पुन: बृहत्त इजलाश तोकेको छ । 

बहुचर्चित अयोध्या मुद्दाको किनारा लगाएका मुख्य न्यायधीश रञ्नज गोगाइले नै यस मुद्दाको फैसला गर्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।