अन्तर्राष्ट्रिय

कोरोना संक्रमणले विश्वव्यापी महामारीको रुप लिनसक्ने भन्दै विज्ञहरुको चिन्ता

एजेन्सी

विभिन्न मुलुकमा संक्रमितहरुको संख्या थपिदै गएपछि कोरोना संक्रमणले विश्वव्यापी महामारीको रुप लिन सक्ने त्रास बढेको भन्दै विज्ञहरुले सचेत गराएका छन् । यसअघि चीनमा मात्रै तीब्र रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण दक्षिण कोरिया, इटली, इरान लगायत मुलुकमा समेत बढ्दै गएपछि विज्ञहरुले सचेत गराएका हुन् । 

विश्व स्वास्थ्य संगठन डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेससले संक्रमण नियन्त्रण गर्ने ढोकाहरु साँघुरो बन्दै गएको बताउनुभयो । 

बेलायतका प्राध्यापक पल हन्टरले पछिल्लो २४ घण्टाको संक्रमणदर हेर्दा यसलाई नियन्त्रण गर्न सक्ने क्षमतामाथि नै प्रश्न उठेको भन्दै चीनवाहिर फैलिरहेको संक्रमणले चुनौती थपिएको बताउनुभएको छ ।

विश्वका विभिन्न स्थानमा समानान्तर किसिमले संक्रमण बढ्दै गएपछि डब्लुएचओले महामारी घोषणा गर्ने गरेको छ । कोरोना भाइरसका कारण हुने श्वासप्रश्वाससम्बन्धी संक्रमण कोभिड नाईन्टिनविरुद्ध हालसम्म कुनै खोप बनेको छैन ।

चीनमा करिब ७७ हजारमा सो संक्रमण देखा परिसकेको छ । २ हजार ६ सय को मृत्यु भएको छ । अन्य विभिन्न २६ मुलुकमा १ हजार २ सय बढीमा संक्रमण पुष्टी भएको डब्लुएचओले जनाएको छ ।

दक्षिण कोरियामा आज मात्र १ सय ६१ नयाँ संक्रमित फेला परेका छन् । योसंगै कुल संक्रमितको संख्या ७ सय ६० पुगेको छ । संक्रमितमध्ये ११ जना सैनिक छन् । अन्य ७ हजार ७ सय सैनिकलाई क्वारेन्टाइनमा राखिएको छ । 

इटलीमा संक्रमितको संख्या १ सय ५० पुगेको छ भने ३ जनाको संक्रमणबाट मृत्यु भएको छ । इरानमा हिजो मात्र थप ४३ जनामा संक्रमण पुष्टी भएको छ भने संक्रमणबाट १२ जनाको मृत्यु भइसकेको छ ।

अफ्गानिस्तान, कुवेत र बहराईनमा पहिलो संक्रमण पुष्टी भएको छ । इरानबाट फर्किएकामा संक्रमण देखिएको हो ।