अन्तर्राष्ट्रिय

युएई र बहराईनबीच इजरेलसँग मैत्रीपूर्ण सम्बन्ध स्थापना गर्ने सम्झौता

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

संयुक्त अरब इमिरेट्स युएई र बहराईनले इजरेलसँग मैत्रीपूर्ण सम्बन्ध स्थापना गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । इजरेलमाथि अरब राष्ट्रहरुको लामो समयदेखिको निषेधको अवस्थालाई तोड्दै सो सम्झौता भएको हो ।

अमेरिकाको मध्यस्थता इरानविरुद्ध मध्यपूर्वी मुलुकहरुको गठबन्धन गर्ने रणनीतिक उद्देश्यले सो सम्झौता भएको रोयटर्सले उल्लेख गरेको छ । 

अमेरिकामा भएको हस्ताक्षर कार्यक्रममा इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु, युएईका विदेशमन्त्री सेख अब्दुल्लाह विन जायद अल–नयन र बहराईनका विदेशमन्त्री अब्दुल्लाहतिफ अल जयानीले सम्झौता ऐतिहासिक भएको बताएका छन् । 

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले पनि सम्झौतासँगै मध्यपूर्वमा नयाँ विहानी आएको बताउनुभएको छ । 

इजरेल र प्यालेस्टाईनबीच लामो समयदेखिको विवाद समाधान नभई सो सम्झौता भएको हो ।

प्यालेस्टाइनसँगको विवाद समाधानका लागि दवाब दिदै अधिकांश खाडी राष्ट्रले इजरेललाई कुटनीतिक तथा आर्थिक सम्बन्धबाट अलग राख्दै आएका थिए । सन् १९६७ को युद्धमा इजरेलले प्यालेस्टाइनको पश्चिमी तट, पूर्वी जेरुसेलम, सिनाइ पेनिन्सुला, गाजा क्षेत्र र गोलान हाइट आफ्नो कब्जामा लिएपछि खाडी राष्ट्रसँग सम्बन्ध चिसिएको थियो ।

यसैबीच, प्यालेस्टाईनले भने आफ्नो मुलुकविरुद्ध ठूलो धोका भएको भन्दै सो सम्झौताको बिरोध गरेको छ । सम्झौताको विरुद्ध इजरेलले नियन्त्रणमा लिएको पश्चिमी तट तथा गाजा क्षेत्रमा प्यालेष्टाइनको झण्डा फहराएर प्रदर्शन गरिएको अलजजिराले जनाएको छ ।