अन्तर्राष्ट्रिय

उत्तर कोरियाली नेताद्वारा क्षमायाचना

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

दक्षिण कोरियाका एक अधिकारीको हत्यालाई लिएर उत्तर कोरियाली नेता किम जोङ उनले क्षमायाचना गर्नुभएको छ । दक्षिण कोरियाली नेता मुन जे इनलाई क्षमायाचना पत्र पठाउँदै नेता किमले सो घटनालाई घृणित कार्यको संज्ञा दिनुभएको छ ।

दुर्लभ व्यक्तिगत क्षमायाचना जारी गर्दै नेता किमले भन्नुभएको छ, 'यस्तो घटना हुनु हुँदैन थियो, राष्ट्रपति मुन र दक्षिण कोरियाली जनतालाई निराश बनाएकोमा म एकदमै दुखी छु ।'

उत्तर कोरियाले मत्स्य विभागमा कार्यरत ४७ बर्षीय आफ्ना एक अधिकारीलाई गोली हानी हत्या गरेको दक्षिण कोरियाले आरोप लगाएको छ । डुङ्गामा गस्तीमा रहेको बेला हराएका ती अधिकारीको शव उत्तर कोरियाको समुद्री क्षेत्रमा फेला परेको थियो । 

उत्तर कोरियाली सैनिकले ती अधिकारीलाई गोली हानी हत्या गरेर शव जलाई पानीमा फालेको भन्दै रक्षा मन्त्रालयले यसलाई हिंसात्मक कार्य भनेको थियो । यद्यपी ती व्यक्तिलाई नजलाएको उत्तरको दाबी छ ।

दुई मुलुकबीच लामो समयदेखि तिक्तता रहदै आएपनि एक दशकपछि पहिलोपटक यस्तो घटना भएको हो । यो घटनापछि दक्षिण कोरिया आक्रोशित छ ।