अन्तर्राष्ट्रिय

भारतमा १० करोड मात्रा लगाइयो

- एजेन्सीकाठमाडौं

भारतमा खोप अभियान सुरु भएको ८५ दिनमा कोरोना भाइरसविरुद्धको खोपको १० करोड मात्रा लगाइएको छ । संक्रमणको दोस्रो लहर अति तीव्र गतिमा बढिरहेका बेला खोप अभियानलाई अझ व्यापक बनाइएको त्यहाँको स्वास्थ्य तथा परिवार मन्त्रालयले जनाएको छ । खोपको १० करोड मात्रा सबैभन्दा छिटो लगाउने भारत पहिलो देश हो ।

यसअघि अमेरिकामा १० करोड मात्रा खोप लगाउनका लागि ८९ दिन र चीनमा १ सय २ दिन लागेको थियो । यद्यपी दोस्रो संक्रमणको लहर तीव्र बन्दै गएपछि भारतमा खोप अभियान प्रभावित हुँदै आएको छ । पछिल्लो सातामात्रै उत्तरप्रदेश, महाराष्ट्र लगायतका विभिन्न ६ राज्यहरुले खोपको अभाव भएको र खोपको मौज्दात पर्याप्त नरहेको बताएका थिए ।

 भारतमा यसअघि अग्रमंक्तिमा रहेर काम गर्ने तथा ६० वर्षमाथिका व्यक्तिलाई प्राथमिकतामा राखेर खोप लगाउँदै आएकोमा गत साताबाट ४५ वर्षमाथिका सबैलाई खोप दिन थालिएको छ । भारतले आगामी जुलाईसम्म २५ करोड मानिसलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने लक्ष्य राखेको छ । यही अप्रिल १ यता भारतमा दैनिक औषतमा ९० हजार भन्दा धेरै संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै भारतमा १ लाख ५२ हजार ८ सय ७९ जनामा संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ८ सय ३९ जनाको संक्रमणका कारण मृत्यु भएको छ । भारतमा अहिलेसम्म एक करोड ३३ लाख ५८ हजार ८ सय ५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमणकै कारण एक लाख ६९ हजार २ सय ७५ जनाको मृत्यु भइसकेको छ ।