अन्तर्राष्ट्रिय

भारतमा भयावह बन्दै कोरोना महामारी, सहयोगका लागि गुहार

- सुरेशराज न्यौपानेनयाँदिल्ली

भारतमा कोरोना भाइरसको महामारी भयावह बन्दै गएको छ । कोरोनाको संक्रमण तीब्र बनेसँगै अस्पतालमा बेड, बिरामीहरुका लागि आइसीयू, भेन्टिलेटर, अक्सिजन र अन्य अत्यावश्यक औषधिको चरम अभाव हुन थालेको छ । 

अभावकै कारण आफन्तका लागि बेड, अक्सिजन र भेन्टिलेटरका लागि केन्द्रीय मन्त्रीदेखि पत्रकार समेतले सामाजिक सञ्जाल मार्फत् गुहार लगाउन थालेका छन् । केन्द्रीय मन्त्री भीके सिंहले आइतबार मध्याह्न कोरोना संक्रमित आफ्नो भाईका लागि बेडको आवश्यक भएको भन्दै ट्विटर मार्फत् सहयोग मागेका छन् । 

भारतीय सेनाका पूर्व प्रमुख समेत रहेका सिंहले भनेका छन्, ‘कृपया मलाई सहयोग गर्नुहोस् मेरो भाईलाई कोरोना उपचारका लागि बेडको आवश्यकता छ, अहिले गाजियावादमा बेडको व्यवस्था हुन सकिरहेको छैन ।’ उत्तर प्रदेशमा पर्ने गाजियावाद मन्त्री सिंहको आफ्नै निर्वाचन क्षेत्र हो । 

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथका सूचना सल्लाहकार शलभमणि त्रिपाठीले ट्विटमै आवश्यक प्रक्रिया सुरु गरिएको जवाफ दिएका छन् । भारतमा विगत केही दिनदेखि कोरोना संक्रमण भयावह रुपमा फैलिएको छ । 

विशेषगरी महाराष्ट्र, दिल्ली, गुजरात, मध्यप्रदेश, तमिलनाडु, कर्नाटक, उत्तरप्रदेश, पन्जाब लगायत राज्यमा संक्रमण तीब्र रुपमा फैलिएको छ । शनिबार एकैदिन २ लाख ६१ हजार ५ सय संक्रमित थपिएका छन् । जुन अहिलेसम्मकै बढी हो । त्यसैगरी १ हजार ५०१ जनाको मृत्यु भएको छ । 

दिल्लीमा मात्र पछिल्लो एक दिनमा २४ हजार ३७५ जनामा संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितको संख्या एक्कासी बढ्न थालेपछि राजधानी दिल्लीमा समेत अक्सिजन र बेडको चरम अभाव देखिएको छ ।