अन्तर्राष्ट्रिय

ओमिक्रोनले फेरि विश्व तरंगित

- एजेन्सी

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएपछि दक्षिण अफ्रिकी मुलुकसंगै युरोप र विश्वका अन्य केही मूलुकले स्वास्थ्य सावधानीमा कडाई गर्न थालेका छन् । बेलायत, जर्मनी, इटली, इजरायल, नेदरल्याण्डस् लगायत मूलुकले नयाँ भेरियन्ट ओमिक्रोन भेटिएसंगै स्वास्थ्य सावधानीमा कडाई गरेको बीबीसीले जनाएको छ । 

बेलायतमा सार्वजनिक स्थानमा पुन: मास्क अनिवार्य गरिएको छ । कोरोना भाइरसको नयां भेरियन्ट ओमिक्रोन भेटिएपछि पूर्ण मात्राको खोप लगाएका ब्यक्तिलाई समेत मास्क अनिवार्य गरिएको छ । इजरायलले विदेशीहरूलाई १४ दिनसम्म मूलुक प्रवेश गर्न प्रतिबन्ध लगाउने भएको छ । कोभिड १९ को नयाँ भेरियन्ट फैलावट रोक्नका लागि स्थानीय समयानुसार आइतबार मध्यरातिबाट सो प्रतिबन्ध लागु हुने बताइएको छ । यस्तै नेदरल्याण्ड्समा कडा प्रतिबन्धहरू लागू भएका छन् । कम्तिमा अर्को तीन हप्ताको लागि, क्याफेहरू, सङ्ग्रहालयहरू र सिनेमाघरहरू जस्ता आतिथ्य र सांस्कृतिक स्थलहरूमा कडाई गरिएको छ ।

यसैबीच दक्षिण अफ्रिकाले कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लागेकोमा प्रशंसाको सट्टा सजाय दिइएको गुनासो गरेको छ । दक्षिण अफ्रिकामा ओमिक्रोन पत्ता लागेसंगै विश्वभरका देशहरूले दक्षिणी अफ्रिकाबाट यात्रा प्रतिबन्ध गरेपछि विदेश मन्त्रालयले गुनासो गरेको हो । ओमिक्रोनको संक्रमण उच्च जोखिम हुने भन्दै स्वास्थ्य सावधानी कडाईका साथ अपनाउन विज्ञहरुले सुझाएका छन् ।