अन्तर्राष्ट्रिय

च्याट जीपीटीका सीईओ अल्टम्यान माइक्रोसफ्टमा जाने

काठमाडौं

च्याट जीपीटीका निर्माता ओपेन एआईका प्रमुख कार्यकारी अधिकृत सीईओ पदबाट बर्खास्त गरिएका साम अल्टम्यानलाई अर्को ठूलो प्रविधि कम्पनी माइक्रोसफ्टले नियुक्त गर्ने भएको छ ।

ओपेन एआईको बोर्डले वक्तव्य जारी गर्दै सो कम्पनी चलाउन अल्टम्यान सक्षम नदेखिएको भन्दै कम्पनीबाट बर्खास्त गरेको जनाएको थियो । अल्टम्यानसँगै ओपेन एआईका सहसंस्थापक ग्रेग ब्रोकम्यानले समेत कम्पनी छाडेको घोषणा गरेका थिए ।

प्रविधिका सम्बन्धमा समाचार लेख्ने द भर्जका अनुसार अल्टम्यान कम्पनीमा फिर्ता हुनेबारे केही पहल भएपनि अल्टम्यान र ब्रोकम्यान दुवै माइक्रोसफ्टमा आबद्ध हुने तय भएको छ । माइक्रोसफ्टका सीईओ सत्य नडेलाले नै पूर्वओपेनएआईकर्मीद्वय माइक्रोसफ्टको नयाँ एड्भान्स एआई रिसर्च समूहमा जोडिने पुष्टि गरेका छन् ।

यसबीचमा माइक्रोसफ्टले भने आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी रिसर्चका लागि छुट्टै विभाग गठन गरेको छ । सो विभागको नेतृत्व अल्टम्यान र ब्रोकम्यानले गर्न लागेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अघिल्लो साता मात्रै माइक्रोसफ्टले आफ्नै एआई चीप उत्पादन गर्ने घोषणासमेत गरेको थियो ।